- नमोबुद्ध संवाददाता
धुलिखेल–आज फाल्गुण शुक्ल पूर्णिमा अर्थात् होली । धुलिखेल,बनेपा,काठमाडौं लगायत देशका पहाडी क्षेत्रका हिन्दु समुदायले धुमधामका साथ यो पर्व मनाइरहेका छन् । आफन्त, साथीभाइ र मन मिलेकाहरुबीच अबिर र रंग दलेर फागुु पर्व मनाउने गरिन्छ ।
छोरा प्रह्लाद विष्णुभक्त भएको आक्रोशमा हिरण्यकश्यपुले आफ्नै बहिनी होलिकाको काखमा प्रह्लादलाई सुताएर आगोमा दहन गर्न खोजेको तर प्रह्लाद सकुशल रहेर होलिकाको मृत्यु भएको भन्ने हिन्दु किंवदन्तीसँग होली पर्व जोडिएको छ ।
काठमाडौँको हनुमानढोका दरवारस्थित मोहनकाली चोकमा भगवान् कृष्णको मूर्तिका साथमा वरिपरि अर्धनग्न अवस्थाका नौ गोपिनीको मूर्ति स्थापना गरेर वसन्तपुर दरवार परिसरमा रङ्गीचङ्गी कपडाको चीर ठड्याएपछि यो पर्व सुरु हुन्छ ।
पशुपतिनाथका कोटवाल पूर्णनारायण जोशीका अनुसार आज पशुपति आउन नभ्याउनेले हिजै पशुपतिनाथमा फुका अबिर अर्पण गरेका छन् । रानीपोखरीस्थित सोह्रहाते गणेशलाई पनि अबिरपानीको लोला प्रहार गर्दै अबिर चढाइएको छ ।
तराईमा भोली,दुई दिन सार्वजनिक विदा
तराई क्षेत्रमा भने पहाडी क्षेत्रमा मनाएको भोली पल्ट मात्रै होली मनाइन्छ । वास्तवमा होली पर्व तराई क्षेत्रका लागि खास पर्व मानिन्छ ।
जानकारहरुका अनुसार होली तराईवासीको सक्कल पर्व हो पहाडका नेपालीले तिनको अनुसरणमात्रै गर्न खोजेका हुन्,संकीर्ण हिन्दु अतिवादी सोचबाट ग्रस्त तत्कालिन राज्यले सद्भावको दृष्टिले भन्दा पनि साँस्कृतिक हस्तक्षेपकारी कदमबाट पहाडी क्षेत्रमा यसको प्रभाव जमाएको बताईन्छ ।
तराईमा होली पर्व छठ पर्वपछि ठूलो पर्व मानिन्छ । तराईवासी भातृत्वभाव बढाउने गतिविधिका साथ धुमधामका साथ होली मनाउँछन् ।
२ नम्बर प्रदेश सरकारले तराईमा होली मनाउन दुई दिन सार्वजनिक विदा दिने निर्णय नै गरिसकेको छ । प्रदेश मन्त्रीपरिषद बैठकले चैत ७ र ८ गेत दुई दिन विदा दिने निर्णय गरेको हो । संघीय सरकारले भने आज एक दिन मात्रै विदा दिएको छ ।
नहोस् विकृति
पछिल्लो समय जवरजस्ती रंग दल्ने,फोहोर पानी छ्याप्ने,लोला हान्ने,पचका हान्ने जस्ता गतिविधि ह्वात्तै बढेको छ । जसका कारण कतै काममा निस्कनेहरु अफ्ठ्यारोमा पर्दछन् ।
कत्तिको शरीरलाई रंग प्रयोग स्वस्थ्यको दृष्टिले पनि राम्रो नहुन सक्छ । हेलचेक्र्याई गर्नाले एलर्जी जस्ता समस्याहरु आउन सक्छन् । यस्ता अवस्थालाई मध्यनजर गर्दै एक आपसमा सद्भावका साथ होली मनाउन सकिने तर अवान्छित गतिविधि भएमा प्रशासनले कडाई गर्नुपर्ने अवस्था पनि आउन सक्नेतर्फ सचेत गराएको छ ।
यस्ता गविविधिमा संलग्न भएको आरोपमा प्रहरीले काठमाण्डौं लगायतका शहरबाट केहि युवाहरुलाई नियन्त्रणमा लिएको खबर पनि प्राप्त भएको छ ।