
- कृतिका घलान
काठमाण्डौं–तेस्रो तामाङ चलचित्र महोत्सव ‘हाम्रो कला हाम्रो पन,तामाङ चलचित्र हाम्रो पहिचान’ भन्ने नाराका साथ यहि चैत २९ देखी काभ्रेको नमोबुद्ध नगरस्थित भकुण्डेवेशीमा सुरु हुने भएको छ । वैशाख १ गतेसम्म ३ दिन चल्ने महोत्सवमा २०७० साल यता निर्माण गरिएका तर हालसम्म डिडिटल प्रविधि(Youtube Channel) मा सार्वजनिक नभएका ५ वटा तामाङ चलचित्र देखाईने मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको हो ।
महोत्सव आयोजक तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकरले भन्नुभयो–“हामी तामाङमा पनि विविधता छ त्यसैले कुनै खास ठाउँको चलचित्र मात्रै हैन,सबै ठाउँका (तेमालदेखी रसुवा ) सम्मका तामाङ भाषिको भावनाको प्रतिविम्बीत हुनेगरी विभिन्न ५ चलचित्रहरु छिट्टै छनौट गर्छौं ।”
भिडियो हेर्नुहोस्
आदिवासी जनजाति तामाङ समुदायको चलचित्र प्रवद्र्धन,गुणस्तरीय चलचित्र निर्माण र लगानीको वातावरण बनाउन यस खाले चलचित्र महोत्सवको महत्वपूर्ण भुमिका रहने अध्यक्ष थोकरको भनाई छ ।
महोत्सवमा देखाईने चलचित्रमध्ये उत्कृष्ठलाई पुरस्कृत गर्ने,सर्वसुलभ दरको टिकटमा दर्शकलाई चलचित्र देखाईदा पनि त्यसबापत बचत हुने रकम कलाकारहरुको हितका निम्ती कल्याणकारी कोषमा जम्मा गर्ने जस्ता योजना रहेको उहाँले सुनाउनुभयो ।
चलचित्र महोत्सवलाई वृहत आकार दिन कलकाकारहरुको प्रत्यक्ष प्रस्तुती जस्ता विविध कार्यक्रम राखिएको जानकारी दिदै उहाँले भन्नुभयो–“हामीले स्टलहरु पनि राख्नेछौं जहाँ तामाङ खानाका परिकार,मौलिक पहिरनका सामाग्री र बुद्धचित्त माला,पुराना बस्तुहरुको प्रदर्शनी समेत गरिनेछ ।”
उहाँका अनुसार महोत्सवको पहिलो दिन चलचित्र निर्माण र बजार व्यवस्थापनका सवालमा अन्तरक्रिया कार्यक्रम पनि राखिएको छ ।
पत्रकार सम्मेलनमा सहभागि आदिवासी जनजाति चलचित्र संघका अध्यक्ष अमृत सुनुवारले चुनौतीकै बिच तामाङ चलचित्र सघंले महोत्सव गर्न लागेकोमा प्रशंसा गर्नुभयो ।
उहाँले भन्नुभयो–“महोत्सव गर्नु चानचुनको विषय हैन,तामाङ चलचित्र संघले यो हिम्मत लिएको छ,यसमा हामी सबैले साथ दिनुपर्छ,यो पटक तामाङहरुको एतिहासिक थलो काभ्रेमा महोत्सव गर्दै हुनुहुन्छ,सफलताको शुभकामना छ ।”
तामाङ चलचित्र संघको यो सत्कर्मप्रति खुसी व्यक्त गर्दै पत्रकार सम्मेलनकैबिच राष्ट्रिय तामाङ घेदुङका महासचिब प्रविण बलले तेस्रो चलचित्र महोत्सव तथा तामाङ कलाकार कल्याणकारी कोषमा टेवा पुगोस् भनी २० हजार सहयोग रकम प्रदान गर्नुभयो ।