- नमोबुद्ध संवाददाता
धुलिखेल–आदिवासी जनजाति तामाङ समुदायको चलचित्र प्रवद्र्धन,गुणस्तरीय चलचित्र निर्माण र लगानीको वातावरण बनाउन चलचित्र महोत्सवको महत्वपूर्ण भुमिका रहने गर्दछ ।
यसैक्रममा तामाङ चलचित्र संघले यो पटक तेस्रो तामाङ चलचित्र महोत्सवको तयारी थालेको छ । महोत्सवबारे जानकारी दिन संघले चैत ५ गते मंगलबार पत्रकार सम्मेलन गर्न लागेको अध्यक्ष बिकु थोकरले जानकारी दिन्भयो ।
महोत्सवमा कस्ता चलचित्रहरु समावेश गरिने, यो क्षेत्रको व्यवसायिक सम्भावना के छ ? कला धर्म तथा साँस्कृतिक पुनःजागरणमा तामाङ चलचित्रको आवश्यकता के रहला ? महोत्सवका उपलब्धी के के हुन सक्छन् ? यिनमा क–कसले कसरी सहकार्य गर्ने ? भन्ने बारेको विस्तृत जानकारीका लागि काठमाण्डौं बौद्धस्थित तामाङ चलचित्र संघको केन्द्रीय कार्यालय तामाङ भवनमा पत्रकार सम्मेलन गर्न लागेको अध्यक्ष थोकरले स्पष्ट पार्नुभयो ।
तामाङ तथा गैर–तामाङ समुदायका मिडिया तथा तिनमा आवद्ध पत्रकारहरुलाई समेत पत्रकार सम्मेलनमा उपस्थितीका लागि अनुरोध गरेको उहाँले बताउनुभयो ।
अध्यक्ष थोकरका अनुसार यस अघि मकवनपुरमा गरिएको महोत्सव यो पटक काभ्रेको नमोबुद्ध नगरस्थित भकुण्डेवेशीमा गर्ने निर्णय भएको छ ।
यो पटकको महोत्सवलाई व्यापकता दिने तयारीमा संघ जुटेको उहाँले बताउनुभयो । औपचारिकतामा टार्ने भन्दा पनि केहि न केहि महत्वपूर्ण सन्देश दिने गरी यो पटकको महोत्सव गर्न लागेको अध्यक्ष थोकरको भनाई छ ।