• नमोबुद्ध संवाददाता

धुलिखेल–काभ्रेका क्रियाशिल पत्रकार पेमा लामाको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ३ नम्बर प्रदेशको पहिलो महाधिवेशन सकिएको छ ।

नुवाकोटमा शुक्रबार र शनिबार दुई दिनसम्म चलेको महाधिवेशनले जनप्रतिरोध साप्ताहिकका सम्पादक पेमा लामा लगायतको टिमलाई सर्वसम्मत निर्वाचित गरेको हो ।

उपाध्यक्षमा युवराज श्रेष्ठ, महिला उपाध्यक्षमा अञ्जु डिम्डुङ, महासचिवमा सुरज कुमार भूजेल, संगठन सचिवमा पूर्णिमा स्याङबा, संस्थागत सचिवमा श्याम राना मगर र कोषाध्यक्षमा पूर्णभक्त दुवाल हुनुहुन्छ ।

सदस्यहरुमा काभ्रे धुलिखेलस्थित रेडियो नमोबुद्धका पुष्पा हायूसँगै बाबुकाजी श्रेष्ठ, विनोद श्रेष्ठ, साहिला तामाङ, रामशरण माझी, लक्ष्मी शाक्य, सम्झना श्रेष्ठ, कुञ्जना पुलामी, डोल्मा शेर्पा, राजेश रुम्बा तामाङ, जीवन लिम्बु, नवीन राना मगर, र राजेश बज्राचार्य लगायत निर्वाचित भएका छन् । दिल बहादुर लामालाई भने अनुशासन संयोजकको जिम्मेवारी दिइएको छ ।

नवनिर्वाचित अध्यक्ष पेमा लामाले संगठनलाई एक बनाएर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । अध्यक्षको सपथ लिए लगत्तै उहाँले भन्नुभयो–“कोही साथीहरुलाई निराश बनाउँदिन,हाम्रा पेशागत अधिकारका साथै समुदायप्रतिको जिम्मेवारीलाई एकै साथ अगाडी बढाउँनेछु ।”

प्रतिक्रिया दिनुहोस !