• नमोबुद्ध संवाददाता

काठमाण्डौं–सङ्गीतविज्ञ हस्तबहादुर थापा (पल्लीमगर)को आत्मकथा ‘मेरो जीवनयात्रा’ लोकार्पण गरिएको छ । शनिबार राजधानीमा आयोजित कार्यक्रमका बिच ब्रिटिस गोर्खा सेना तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका एसपीबाट अवकाश प्राप्त थापाको आत्मकथा पूर्व प्रहरी महानिरीक्षक, राजदूत एवम् सांसद खड्गजीत बरालबाट लोकार्पण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि बरालले लेखक थापाको कामको प्रशंसा गर्नुभयो । यसअघि ‘प्राथमिक सुरसमता मार्ग (भाग–३ सम्म)’, ‘आधारभूत स्टाफ नेटेशन तथा नेपाली पर्व, संस्कार र सांस्कृतकि धुनहरू’, ‘सरल सङ्गीत ज्ञानमाला र परम्परागत बिगुल धुनहरू’ लगायतका कृति प्रकाशित गरिसक्नुभएका थापाको आत्मकथा थुप्रैका लागि प्रेरणादायी हुने बरालको भनाई छ ।

बरालले थापा नेपाल प्रहरी ब्यान्डको निर्माता भएको उल्लेख गर्दै उहाँकै अगुवाईमा प्रहरी ब्यान्ड एउटा नमूना ब्यान्ड बन्न सफल भएको बताउनुभयो । ब्रिटिस गोर्खा सेनाको ब्यान्डमा कार्यरत थापालाई प्रशिक्षकका रूपमा नेपाल प्रहरीमा ल्याएर कुशल ब्यान्ड स्थापनाको भूमिका खेलेका तत्कालीन प्रहरी महानिरीक्षक बरालले असल प्रहरी तयार पार्नमा ब्यान्डको महत्वपूर्ण भूमिका रहने दाबी गर्नुभयो ।

कार्यक्रममा अर्का पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिंह, दोस्रो विश्वयुद्ध लडेका पूर्व मेजर त्रिलोकसिंह थापा क्षेत्री र कवि राजेन्द्र शलभ र लेखककी बुहारी लाराले लेखक थापाका योगदानका बारेमा प्रकाश पार्नुभयो ।

स्याङ्जाको एउटा विकट र पिछडिएको गाउँमा जन्मे–हुर्केका र अठ्ठाइस वर्ष बेलायती सेनाको ब्रिटिस गोर्खा ब्यान्डमा कुशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरेका हस्तबहादुर थापा (पल्लीमगर) वि.सं. २०३४ सालमा नेपाल प्रहरीमा सङ्गीत प्रशिक्षकका रूपमा प्रवेश गर्नुभएको थियो । त्यसको बीस वर्षपछि प्रहरी उपरीक्षकबाट अवकाश लिएका उहाँ,लगत्तै सशस्त्र प्रहरी बलमा सङ्गीत प्रशिक्षककै रूपमा आवद्ध भएपछि उहाँकै नेतृत्वमा सशस्त्र प्रहरी बलमा सङ्गीत ब्यान्डको स्थापना भएको थियो ।

आफ्नो जीवनको अधिकांश समय ब्रिटिस गोर्खा सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा सेवा गरेर, दर्जनजति देश घुमेर, थुप्रै मान–सम्मान र पुरस्कार प्राप्त गरिसक्नुभएका थापाले आफूले घुमेका, देखेका अनि भोगेका समय र घटनालाई समेटेर रत्न पुस्तक भण्डारमार्फत आत्मकथात्मक कृति ‘मेरो जीवनयात्रा’ प्रकाशनमा ल्याउनुभएको प्राज्ञ शशि लुमुम्बुले जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस !