- नमोबुद्ध संवाददाता
काठमाण्डौं–नेपाल प्रज्ञा–प्रतिष्ठान प्रज्ञा–प्रतिष्ठानको इतिहासमै पहिलो पटक बालसाहित्य सम्बन्धी पत्रिका प्रकाशन गर्ने तयारीमा लागेको छ । प्रतिष्ठान ‘बालप्रज्ञा’ नामक अर्धवार्षिक साहित्यिक पत्रिका प्रकाशनमा लागि परेको प्राज्ञ शशि लुमुम्बुले जानकारी दिनुभयो ।
उहाँका अनासार प्राज्ञ परिषद्को बैठकको निर्णय गरिसकेको छ । सोही निर्णयअनुसार साहित्य (बालसाहित्य र लोकवार्ता) विभागको संयोजनमा नयाँ वर्ष २०७६ वैशाखबाट रङ्गीन कलेवरमा ‘बालप्रज्ञा’ प्रकाशन हुनेछ ।
विभागीय प्रमुख प्राज्ञ डा. देवी नेपालका अनुसार अर्धवार्षिक बालपत्रिका ‘बालप्रज्ञा’को पहिलो अङ्कमा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक एवम् प्रधानमन्त्री, संरक्षक संस्कृतिमन्त्री र कुलपतिको विशेष शुभकामनाका साथै राष्ट्रकवि माधव घिमिरे, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, बैरागी काइँला, मदनमणि दीक्षित, वासुदेव त्रिपाठी, चूडामणि बन्धु, शान्तदास मानन्धर, दुर्गालाल श्रेष्ठ, शैलेन्दुप्रकाश नेपाल आदिका संक्षिप्त शुभकामनाहरू राखिने छ ।
‘बालप्रज्ञा’मा बालकविता, बालकथा, बालोपयोगी जीवनी, निबन्ध, प्रबन्ध, नियात्रा, बालनाटक र एकाङ्की, बालसमीक्षा, विधागत सिद्धान्त र विविध सामग्रीहरू समावेश गरिने प्रधान सम्पादक प्राज्ञ डा. नेपालले बताउनुभयो ।