
- नमोबुद्ध संवाददाता
काठमाण्डौं–साहित्यकार रक्ष राईको कथा संग्रह ‘पल्टनेको फोटो’ बुधबार सार्वजनिक गरिएको छ । यसअघि ‘शहीदकी आमाको लास’, ‘बालुवामा अर्को नेपाल’ (कथासङ्ग्रह), ‘देश दुःखेको छ’, ‘सालिक उभिएर गोर्खाली’ र ‘पोएट इन किलिङ जोन’ (अङ्ग्रेजी कवितासङ्ग्रह) प्रकाशित गरि चर्चा बटुलीसक्नुभएका राईको यो पटक नवीनतम् कथा संग्रह ‘पल्टनेको फोटो’ सार्वजनिक भएको हो ।
नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत र साङ्ग्रिला बुक्सद्वारा राजधानीमा आयोजित एक समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले यो कृति सार्वजनिक गर्नुभयो । कृति सार्वजनिक कार्यक्रममा काइँलाले बेलायतमा बसेर साहित्य चिन्तन तथा लेखनमा क्रियाशील राईको कथासङ्ग्रह नेपाली कथा साहित्यका क्षेत्रमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । नेपाली भाषा, साहित्यको समृद्धिमा डायास्पोरामा रहेका राई जस्तै स्रष्टाहरूको महत्वपूर्ण योगदान रहेको उहाँको भनाई छ ।
निबन्धकार तथा समालोचक प्रा.डा. ज्ञानू पाण्डेले पनि काइँलाईको भनाईमा सहि थप्नुभयो । उहाँले आफूले राईका कथाहरूमा डायास्पोरिक तथा सैन्य साहित्य सम्बन्धी अग्र्यानिक स्वादको कथा पाएको धारणा राख्नुभयो । त्यस्तै कवि तथा समालोचक सुरेश हाचेकालीले नवचेतनाग्रह, डायास्पोरा साहित्यसिद्धान्त र युद्धसौन्दर्य चेतनाका सिद्धान्तकार तथा चिन्तक राईका कथाहरू तिनै सिद्धान्तमा आधारित रहेको बताउनुभयो ।
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतका आजीवन सदस्य तथा नेपाल संयोजक प्राज्ञ शशी लुमुम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कविहरू जसराज किराती, मदन राई ‘लामाखुले’ र टीका चाम्लिङले नेपाली साहित्यमा रक्ष राईको योगदानबारे चर्चा गर्नुभयो ।
कार्यक्रममा कथाकार राईले आफ्नो साहित्य लेखनयात्रा र कथाका भावभूमिबारे प्रकाश पार्दै सांग्रीला बुक्सद्वारा प्रकाशित आफ्ना संग्रह भित्र सत्र वटा कथा रहेको जानकारी गराउनुभयो ।
खोटाङको बुइँपा पुख्र्यौली थातथलो भएका सेवा निवृत्त पूर्व ब्रिटिस सैन्य राई बेलायतको वेल्समा बसेर साहित्य चिन्तन र सिर्जना कर्ममा समर्पित हुनुहुन्छ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतका संस्थापक अध्यक्ष राई ‘नवचेतनाग्रह’, ‘डायास्पोरा सिद्धान्त’ र युद्धसौन्दर्य चिन्तन’का प्रर्वतक समेत हुनुहुन्छ ।