• नमोबुद्ध संवाददाता

बनेपा–काभ्रेको बनेपा नगरपालिकाले बुधबार बालबालिकासँग मेयर कार्यक्रम गरेको छ । बालबालिकामाझ प्रत्यक्ष छलफल गरी उनिहरुको समस्याको सुनुवाई गर्ने तथा बालमैत्री नगरनीति तर्जुमा गर्न सहयोग पुग्ने अपेक्षाका साथ यस्तो कार्यक्रम आयोजना गरेको नगरपालिकाले जनाएको छ ।

बनेपा नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका सामुदायिक र निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा उनिहरुले नगरका प्रमुख(मेयर) लक्ष्मीनरसिं बादे समक्ष पालैपालो पश्नहरु राखे ।

सामुदायिक विद्यालयमा अध्ययनरत छात्र अभियान ढकालले शिक्षकहरुको लापरवाही हटाई सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन अनुरोध गर्नुभयो । साथै ढकालले शिक्षाको विकासमा नगरले छुट्याईने बजेटबारे चासो व्यक्त गर्नुभयो । निजी विद्यालयमा अध्ययनरत छात्रा सञ्जिता घिमिरेले बाल यौन हिंसा रोकथाम र सुरक्षाका लागि नगरपालिकाको योजनाबारे जिज्ञासा राख्नुभयो ।

त्यस्तै छात्रा सिर्जना बजगाईले सामुदायिक विद्यालयहरुमा छात्रामैत्री शौचालय र खानेपानी व्यवस्थापनको माग गर्नुभयो । केहि विद्यार्थीले आफूहरुको स्वाथ्यमा निकै असर परेको भन्दै बनेपाको फोहोर व्यवस्थापनमा तत्काल ध्यान दिनुपर्ने बताए ।
भिडियो हेर्नुहोस्

विद्यार्थीहरुको जवाफ दिदै मेयर बादेले जनताले जनप्रतिनिधि पाएपछि विकास निर्माणले गति लिएको बताउनुभयो । बनेपाको शैक्षिक विकासमा एकमुष्ट २० करोड बजेटको व्यवस्था गरेको जानकारी दिदै उहाँले छात्रामैनी शौचालय र खानेपानीको व्यवस्था छिट्टै गर्नतर्फ लाग्ने वचन दिनुभयो । सामुदायिक विद्यालयदेखी प्रशासनिक सेवा चुस्त दुरुस्त बनाउन आफु कठोर भएर लाग्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो–“बाल यौन दुरव्यवहारका विरुद्ध हामी एक छौं,उनिहरुको सुरक्षानै प्रमुख विषय हो यसमा ध्यान अवश्य दिइरहेका छौं,शिक्षक हुन् या जनप्रतिनिधी अनि कर्मचारी जोकोहीलाई पनि छोड्दीन गलत काम गरेका छन् भने,ढिलासुस्ती हेलचेक्र्याई गरेका छन् भने,भ्रष्टचारीलाई त छोड्दै छोड्दीन । यताउता गाँइगुई चलेको छ,हो भने प्रमाण जुटाउन सहयोग गर्नु म कारवाही गर्छु,बनेपालीको हितका लागि म मरेर लाग्नेछु ।”

मेयर बादेले बनेपालाई स्वच्छ बनाउने योजना आफ्नो प्राथमिकतामा रहेको स्पष्ट पार्नुभयो । त्यसैले निजी कम्पनीलाई फोहोर जिम्मा लगाउने समझदारी भईसकेको जानकारी उहाँले दिनुभयो । उहाँले थप्नुभयो–“तपाई हामी पनि सचेत हुनुपर्छ,कुहिने नकुहिने फोहोर छुट्याएर निश्चीत समय राखौं,महिनामा कम्तीमा ९० रुपैंयाँमा त्यो फोहोर बिक्छ,निजी कम्पनीले त्यसको जिम्मा लिएको छ ।”
तत्कालिन समय तत्काल फोहोर जम्मा गरी लैजाने ठाउँहरुमा फोहोर नराख्न स्थानियलेनै आग्रह गरेका कारण केहि समय नगरपालिका छेउमै फोहोर थुपार्नुपर्ने अवस्था आएको उहाँको भनाई छ । यो समस्या छिट्टै हाल हुने दावी गर्दै उहाँले बालबालिकादेखी बृद्धबृद्धासम्मले सफा हावा खाने वातावरण बनाउने प्रतिवद्धता जनाउनुभयो ।

भिडियो हेर्नुहोस्

उहाँले जापनिज सहयोग नियोग(जाईका) सँगको सहकार्यमा बनेपाको सडक चौडा बनाउन लागेको जानकारी पनि दिनुभयो । बनेपावासीलाई ढुक्क हुन आग्रह गर्दै उहाँले भन्नुभयो –“छेउछाउको सडक मर्मतका लागि अहिले डोजर चलिरहेकैछ,पचासौं वर्षसम्म भत्काउन नसकेको संरचना व्यवस्थापन गरेका छौं, खानेपानीको योजना अघि बढेकै छ ।”

मेयर बादेले चारदोबाटोको सालिक बनाउने नगर परिषदले पास गरिसकेको भएपनि खर्च मितव्ययितालाई ख्याल गरी तत्काल यो योजना अगाडी नबढेपनि योजना सम्पन्न गरेरै छाड्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !