सेम्ह्रो फूलमान मोक्तान :

काठमाण्डौं–नेपाली कांग्रेस सिन्धुपाल्चोकले शनिबार आफ्ना अगुवा कार्यकर्ताहरुका लागि महासमिति बैठकबाट पारित विधान,राजनीतिक, सांगठनिक तथा आर्थिक विषयबारेको अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

राजधानीस्थित धुम्बारहीमा आयोजित अभिमुखिकरण तथा अन्तरक्रियाको उद्घाटन गर्दै जिल्ला सभापति बिकास लामाले कांग्रेसबाट जिल्लाभित्र निर्वाचित भएका जनप्रतिनिधिहरुले पार्टीको छवि गिराउन नहुनेमा सचेत गराउनुभयो । उहाँले जनताको काम इमानदारीपुर्वक नगरी अनियमितता गरेको पाइएमा उनिहरुलाई पार्टीले कार्बाही गर्ने चेतावनी समेत दिनुभयो ।

जिल्लाबाट प्रतिनिधित्व गर्ने स्थानीय र प्रदेशका प्रतिनिधिहरुलाई समेतलाई निर्देशन दिँदै उहाँले भन्नुभयो – “कांग्रेस जनताको अधिकार र संवृद्धिमा काम गर्ने पार्टी भएकोले त्यसै अनुरुप काम गर्नु पर्ने पर्छ, निष्पक्ष रुपमा काम नगरी अनियमितता र अन्य कुरामा लागे भोलिका दिनमा टिकट नदिनेगरी कारबाही अघि बढाउन बाध्य हुन्छौं ।”

सभापति लामाले काँग्रेस संगठन बिस्तारसँगै जनताको आर्थिक विकास र रोजगार अभिवृद्धिमा अघि बढ्नुपर्ने बताउनुभयो । पार्टीले नेतृत्व असल र जुझारु नेतृत्व बिकासमार्फत अर्को निर्वाचन जित्ने रणनीतिक लक्ष्य लिएकोमा एक ढिक्का भएर लाग्न जरुरी रहेकोमा उहाँको जोड छ ।

कार्यक्रममा सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर २ का प्रदेश सांसद निमा लामा,काँग्रेस उपसभापति शिव सुनार,जिल्ला सचीव बिल बहादुर तामाङ, जिम्मी लामा लगायतका नेताले आफ्नो मन्तव्य राख्नुभयो ।

साथै जिल्लाका नेबि संघ,तरुण दल, महिला संघ , नेपाल ट्रेडयुनियन , लोकतान्त्रिक शेर्पा संघ लगायतका भार्त संस्थाका प्रतिनिधि,महासमिति सदस्य,महाधिवेशन प्रतिनिधि लगायतले पनि मन्तव्य राखे । कार्यक्रममा जिल्लाका नेता तथा कार्याकर्ताको बाक्लो उपस्थित थियो ।

प्रतिक्रिया दिनुहोस !