
बुद्ध नेपाली :
सिन्धुली-प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना जुनार सुपरजोन सञ्चालक समितिले जुनार बगैचा व्यवस्थापनको लागि सिन्धुलीका किसानलाई साना मेसिनरी तथा औजार उपकरणहरु अनुदानमा दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना जुनार सुपरजोन सञ्चालक समितिको हालैको बैठकले जुनार किसानलाई साना मेसिनरी तथा औजार उपकरणहरु ५० प्रतिशत अनुदानमा दिने निर्णय गरेको हो ।
त्यस्तै साना सिचाई तथा भकारो सुधार कार्यक्रम वितरण गर्दा भौगोलिक क्षेत्रहरुलाई समेत ध्यानमा राख्न जुनार सुपर जोन कार्यायलयलाई अनुरोध गर्ने निर्णय भएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना जुनार सुपरजोन सञ्चालक समितीकी सचिव सुष्पा भुजेलले बताउनुभयो ।
जुनारमा प्रकोपको रुपमा देखा परेको औंसा किरा व्यवस्थापनका लागि किसानको तर्फबाट लागत साझेदारी जुटाउन जुनार किसान परिचय पत्र कार्यान्वयनका लागि जुनार सुपर जोन कार्यायलयलाई सहजिकरण गर्ने निर्णय भएको पनि सचिव भुजेलले जानकारी दिनुभयो ।
जुनार सुपरजोन क्षेत्रका १ हजार ५ सय किसानहरुलाई पहिलो चरणमा जुनार किसान परिचय पत्र वितरण गर्न थालिएको कार्यालयले जनाएको छ ।