नमोबुद्ध संवाददाता :

काठमाण्डौं–संघीय संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम विदेशी कम्पनीलाई नदिन सरकारलाई निर्देशन दिएको छ । बिहिबार बसेको समितिको बैठकले तत्काल काम थाल्नेगरी नेपाली कम्पनीका नेपाली निर्माण व्यवसायी मार्फत आयोजनाको बाँकी काम पूरा गर्न खानेपानी तथा सरसफाई मन्त्रालयलाई निर्देशन दिएको हो ।

ग्लोबल टेन्डर आह्वान गरेर जाँदा ढिलाई हुने भएकाले आयोजनाको बाँकी काम नेपाली निर्माण कम्पनीमार्फत् नै सम्पन्न गर्न सरकारलाई निर्देशन दिइएको समितिका सभापति दिलकुमारी रावलले जानकारी दिनुभयो । समितिले आयोजनाभित्र देखिएका अन्य समस्या समाधानका लागि सम्बन्धित निकायसँग आवश्यक छलफल गर्न ढिलाई नगर्न पनि सरकारलाई सचेत गराएको छ ।

बैठकमा खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले आयोजनाको बाँकी काम एसियाली विकास बैंकलाई सहमतिमा ल्याएर नेपाली निर्माण कम्पनीबाटै गराउने योजना समितिमा पेस गर्नुभएको थियो । । उहाँले आयोजनाको बाँकी काम ४ वटा टुक्रामा विभाजन गरेर छिट्टै सम्पन्न गराउने प्रतिबद्धता पनि जनाउनुभयो ।

मेलम्ची खानेपानी आयोजनाको बाँकी अलपत्र छोडेर सिएमसी कम्पनी हिँडेपछि सरकारले पनि स्थानीय निर्माण कम्पनीमार्फत नै बाँकी काम पूरा गराउने गरी एसियाली विकास बैंकसँग छलफल अघि बढाएको छ । २०७० सालमा इटालीको सीएमसी कम्पनीलाई ३ वर्षमा आयोजना सम्पन्न गर्ने गरी ठेक्का लगाइएको थियो ।

सीएमसी कम्पनीले गर्नुपर्ने करिब ९ सय मिटर सुरुङको फिनिसिङसहित सुरुङभित्र क्यामेरा जडान गर्ने, सुरक्षाका उपकरण जोड्ने काम पनि बाँकी छ । उपआयोजना अन्तरगत वितरण प्रणालीका पाइप बिछ्याउने, मर्मत गर्ने काम समेत अलपत्र छ । कम्पनी काम सम्पन्न नगरी अन्तिम समयमा भागेपछि अहिले निर्माण कार्य ठप्प रहेको हो ।

प्रतिक्रिया दिनुहोस !