
नमोबुद्ध संवाददाता :
धुलिखेल–काभ्रे लागयत देशभर चिसो बढेको छ । पश्चिमीको वायुको प्रभावले मौसम बदलिएकोले पश्चिम क्षेत्रमा बढि असर देखिएको छ । बझाङ लागयतका जिल्लामा हिमपात रोकिएको छैन, चिसो बढेसंगै २ हजार मिटर उचाईमाथिका सिन्धुपाल्चोक,दोलखा,काभ्रे लगायत पहाडी भेगमा पनि हिउँ परेको छ ।
बाक्लो हिमपातले विभिन्न ठाउँमा पहिरो गएको छ,जनजीवन प्रभावित बनेको छ । पानी समेत परेपछि तराई क्षेत्रमा समेत जनजीवन कष्टकर भएको छ ।
तराईमा पानी,किसानलाई राहत,वृद्धवृद्धालाई समस्या
रौतहट सहित तराईका जिल्लाहरुमा परेको पानीले चिसो झन् बढेको छ । मौसम बदली भई भईरहेको वर्षाले चिसो बढेपछि तराई क्षेत्रको जनजीवन कष्टकर बनेको छ ।
माघ महिनामा चिसो लाग्ने भएपनि दुई दिन यत्रा विहानै देखी एक्कासी परिरहेको पानीले झन् चिसो बढाएको छ । पानी पर्नुका साथै चलिरहेको चिसो हावाले याँहाका स्थानीयवासिन्दालाई समस्या भएको छ । चिसो बढेपछि खासगरेर वृद्धवृद्धा र बालबालिका बढि प्रभावित भएका छन् ।
वर्षा भएपछि चिसो बढेपनि किसानहरुलाई फाईदा भने भएको छ । वर्षाले तरकारी र गहुँका खेती गरेका किसानहरुलाई फाईदा भएको देखिएको छ । वर्षाले खेतमा हिलो भई बालीनालीको उत्पादनमा वृद्धि हुने भन्दै किसानहरु खुसी भएका छन ।
पुर्वि भेगमा पनि बाक्लो हिमपात
सोलुखुम्बुका साथै तेह्रथुम र संखुवासभाका डाँडाकाँडा लगायत देशको पुर्वि भेगमा पनि बाक्लो हिमपात भईरहेको छ । तेह्रथुम र संखुवासभाको सीमा क्षेत्र तीनजुरे मिल्के जलजले टिएमजे क्षेत्रका डाँडाकाँडा सेताम्मे बनेका छन् ।
दशकपछि यी जिल्लाका तल्लो क्षेत्रसम्म पनि हिमपात भएको हो ।
हिमपातपछि मुस्ताङमा पहिरो
बाक्लो हिमपातपछि मुस्ताङमा पहिरो गएको छ । घरपझोङ गाउँपालिका–२ छैरोमापहिरो गएको हो । घरपझोङगापा १ मार्फा र २ छैरो बिचमा कालीगण्डकी नदीले बनाएको साँघुरो गल्छीमा गएको सुख्खा पहिरोले कालीगण्डकी केहीबेर अवरुद्ध भएको थियो ।
पहिरो गएको क्षेत्रमा अहिले १ फिट बढी बाक्लो हिउँ जमेको छ । २०७२ सालको भूकम्पपछि चर्किएको करिब ५ सय मिटर पाखो मध्ये अहिले २० मिटर बढी नदीमा खसेको छ ।
जुम्लामा लेक लागेर १ को मुत्यु
हिमपात पछि चिसोका कारण जुम्लामा १ जना युवाको मुत्यु भएको छ । जुम्लाको सिंजा गाउँपालिका वडा नम्वर ६ जोडु गाऊँका २७ वर्षका शिवचन्द्र बुढाको चिसोले मृत्यु भएको हो । पातारासी गाउपालीका वडा नम्वर ६ पर्ने पटमाराबाट भेडाबाट बनेका राडीपाखी खरीद गरि घर फर्केने क्रममा लेक लागेर बुढको मुत्यु भएको हो ।