नमोबुद्ध संवाददाता :

काभ्रे–जिल्लाको मण्डनदेउपुर नगरपालिकाल आफ्नो नाम परिवर्तनको प्रस्ताब गरेको छ । हालै बसेको चौथो नगरसभाले नगरपालिको नाम परिवर्तन गर्ने निर्णय गरेको नगर प्रमुख टोकबहादुर वाईबाले जनाकारी दिनुभयो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ३ बमोजिम नगरपालिकाको नाम परिवर्तन गर्न लागेको बुधबार बनेपामा आयोजित पत्रकार सम्मेलनमा उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–“यस नगरपालिकाको नाम अब ‘नगरकोट मण्डनदेउपुर नगरपालिका’ राख्न प्रदेश सभा मार्फत नेपाल सरकारलाई प्रस्ताब पठाउने निर्णय भएको छ ।”

नाम परिवर्तनका औचित्यको बारेमा प्रष्ट पार्दै प्रमुख वाईबाले नगरकोट देशदेखी विदेशसम्म प्रख्यात ठाउँ भएको र यो ठाउँ यसै नगरपालिका भित्र परेकोले पनि यो ठाउँको पहिचानसमेत झल्कीनेगरी जोडेर नाम परिवर्तन गर्न लागेको बताउनुभयो ।

उहाँको तर्क छ–“सुन माथि सुगन्ध होस भनेर ‘नगरकोट मण्डनदेउपुर नगरपालिका’ राख्न लागिएको हो,कसैको पनि भावनालाइ ठेस नपुग्ने गरि सबैको सहमतिमा यो निर्णय भएको छ ।”

स्थानियमा उत्साह

नगरपालिकोको नाम परिवर्तनसँगै नगरकोट भक्तपुरमा नभई काभ्रेको हो भन्ने सन्देश जनमानसमा स्पष्ट हुने अपेक्षा गरिएको छ । यसबाट प्रत्यक्ष अप्रत्यक्ष नगर फाईदा त लिनेनैछ,स्थानियले समेत अपनत्व महसुस गर्न पाउँनेछन् ।

पर्यटकिय स्थल नगरकोटमा हुने आर्थिक गतिविधि र तिनको स्वामित्व तथा फाईदा ग्रहणका विषयमा भक्तपुर र काभ्रेबिच पनि बेलाबेलामा मतैक्य हुन नसकेका खबर आउँथे,जसबाट होटल सञ्चालक,पर्यटन व्यवसायी तथा स्थानियसम्म आजित थिए ।नगरपालिकाको यस निर्णयप्रति नगरकोट नाल्दुमका स्थानिय सन्तोष तामाङले खुसी व्यक्त गर्नुभयो ।

नगरसभाका थप निर्णयहरु सार्वजनिक,कार्यसम्पादनका हिसाबले अब्बल र सक्षम रहेको दावी

मण्डन देउपुर नगरपालिकाले बुधबारको पत्रकार सम्मेलनमार्फतनै नगरसभाले गरेका अन्य निर्णयहरु पनि सार्वजनिक गरेको छ । पौष २९ गतेदेखि माघ ७ गतेसम्म चलेको यस नगरपालिकाको चौथो नगरसभाले गरेको निर्णयहरु सार्वजनिक गर्दै प्रमुख वाइबाले जिल्लाको सबैभन्दा कान्छो नगरपाकिला भएपनि कार्यसम्पादनका हिसाबले अब्बल र सक्षम रहेको दावी गर्नुभयो ।

पत्रकारहरुको प्रश्नको जवाफ दिदै प्रमुख वाईबाले स्थानीय स्रोत, साधानको अधिकतम सदुपयोग गरी संघीय सरकारको ‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने अभिायनलाई समेत सार्थक बनाउन महत्वपूर्ण भूमिका खेल्न नगरपालिका सक्रियता पूर्वक लागेको बताउनुभयो ।

के के भए निर्णय ?

नगरसभाले अनुमति विना खोलामा स्काभेटर प्रयोग गरि नदीजन्य पदार्थ उत्खनन् गरेमा १ लाख जरिवाना गर्ने निर्णय गरेको छ । त्यसै गरि अन्य क्षेत्रमा समेत अनाधिकृत रुपमा ढुंगा, बालुवा उत्खनन् गरेमा त्यस्तो कार्य गर्नेलाई समेत उक्त जरिवाना लाग्ने भएको छ । यो निर्णय प्रदेश सरकारको कार्यविधि समेतलाई आधार बनाएर गरेको प्रमुख वाईबाले स्पष्ट पार्नुभयो ।

नगरसभाले विभिन्न ऐनहरु समेत पारित गरेको छ । सभाले मदिरा उत्पादन, बिक्रि वितरण, प्रयोग तथा नियन्त्रण सम्बन्धि विधेयक–२०७५, सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने विधेयक–२०७५, शिक्षा ऐन २०७४ संशोधन, न्यायिक समति (कार्यविधि) सम्बन्धि ऐन २०७४ शंसोधन गरेको छ । नगरसभाले विभिन्न निकायलाई करका दरहरु समेत निर्धारण गरेको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

नगरपाकिला भित्र एफ.एम सञ्चालनका लागि इजाजत दस्तुर रु ३० हजार, वार्षिक नबीकरण दस्तुर रु १५ हजार निर्धारण गरिएको छ । त्यसैगरि बचत तथा ऋण सहकारीलाई रु. ४ हजार, बहुउद्देश्यीय सहकारीलाई रु ३ हजार, दुग्ध सहकारीलाई रु १५ सय, कृषि सहकारीलाई रु १ हजार लिने निर्णय गरेको छ ।

क्रसर, ईट्टा, ढुंगा, बालुवमा करका दरहरु नगरसभाले क्रसर, इट्टा, ढुंगा, बालुवा उद्योगहरु दर्ता र नविकरणलाई समेत कर निर्धारण गरिएको छ । साथै क्रसर उद्योगका लागि ११ लाख, इट्टा उद्योगका लागि ८ लाख, ढुंगा खानी उद्योगका लागि ७ लाख, बालुवा खानीको लागि ५ लाख र बालुवा वासिङको लागि ४ लाख निर्धारण गरेको प्रमुख वाईबाले जानकारी दिनुभयो ।

नपा प्रवक्ता डिल्लीप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको प्रेस विज्ञप्ति हेर्नुहोस् :

 

प्रतिक्रिया दिनुहोस !