नमोबुद्ध संवाददाता :

काठमाण्डौं–१० रुपैयाँ दरका पोलिमार नोट छपाइमा भ्रष्टाचार गरेको आरोप लागेका नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. तिलक रावल १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा हुनु भएको छ । उहाँसँग विशेष अदालतले १० लाख रुपैयाँ धरौटी माग गरेको थियो ।

डा. रावल सोमबार विशेष अदालतमा उपस्थित हुनु भएको थियो । गत पुस ५ मा रावलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

आर्थिक वर्ष ०५८÷५९ मा अस्ट्रेलियाको केन्द्रीय बैंक मातहतको ‘नोट प्रिन्टिङ अस्ट्रेलिया’मार्फत १० रुपैयाँ दरका ५ करोड थान नोट छापिएको थियो । मिलेमतोको आधारमा सो कम्पनीलाई ठेक्का दिइएको र कमसल नोट छपाइ गरेको अख्तियारको अभियोग छ ।

नोट छपाइमा २ करोड ७३ लाख भ्रष्टाचार भएको ठहर गर्दै जनही ९१ लाख ९ हजार बिगो कायम गरी रावलसहित राष्ट्र बैंकको नोट विभागका तत्कालीन प्रमुख उपेन्द्रकेशरी पौडेल र ‘नोट प्रिन्टिङ अस्ट्रेलिया’का नेपाली प्रतिनिधि हिमालयबहादुर पाँडेविरुद्ध मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया दिनुहोस !