• नमोबुद्ध संवाददाता

काठमाण्डौं–अब हुने दुई क्रिकेट खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ । आईतबार संयुक्त अरब इमिरेट्स (युएई) सँगको एकदिवसीय र टी–ट्वान्टी सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको हो ।

पारस खड्काको कप्तानीमा रहने नेपाली टोली ३ वैकल्पिक खेलाडीसहित १६ सदसीय रहेको छ । आईसीसीका प्रतिनिधि इमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्का सम्मलित छनोट समितिले प्रारम्भिक चरणमा छनोट भएका २० खेलाडीबाट १६ खेलाडी छनोट गरेको हो । युएईसँगको खेलका लागि चार युवा खेलाडीले सिनियर टिममा स्थान बनाएका छन् ।

अविनाश बोहरा,भिम सार्की, पवन सर्राफ र सन्दीप जोराले सिनियर टिममा स्थान बनाएका हुन् । नेपाली टोलीका नियमित सदस्य शरद भेषवाकरलाई भने विरामी भएका कारण टिममा राखिएको छैन । नियमित सदस्य ललित भण्डारी,बिक्रम सोब र सुशन भारी वैकल्पिकमा परेका छन् । टोलीका नियमित सदस्य तथा लेग स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) खेलेर सोमवार नेपाल आईपुग्नुहुनेछ ।

नेपालले युएईसँग तीन खेलको एकदिवसीय र तीन खेलको टी–ट्वान्टी सिरिज खेल्नेछ ।नेपालले माघ ११ देखि माघ २० सम्म युएईको भ्रमण गर्नेछ । नेपालले युएईसँग पहिले एकदिवसीय सिरिज खेल्नेछ । नेपालले माघ ११, १२ र १४ गते एकदिवसीय सिरिज खेल्नेछ । यस्तै माघ १७, १८ र २० मा टी–ट्वान्टी सिरिज खेल्नेछ । नेपाली टोली मंगलबार युएईतर्फ प्रस्थान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस !