• नमोबुद्ध संवाददाता

पोखरा–कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले सुरक्षा निकायमाथि हस्तक्षेप गर्न हुने बताउनुभएको छ । लोकतन्त्रमा कर्मचारी, न्यायपालिका, सेना र प्रहरी स्वतन्त्र रहने भएकाले उनीहरुमाथि हस्तक्षेप गर्न नहुने उहाँको तर्क छ ।

सभापति देउवाले सरकारबाट कर्मचारीमाथि अनावश्यक हस्तक्षेप भएको भन्दै यस बिरुद्ध सदनदेखि सडकसम्म जान बाध्य नपार्न चेतावनी दिनुभयो । दउवाले शनिवार नेपाल निजामति कर्मचारी यूनियन (संघ) गण्डकी प्रदेशको कास्की पोखरामा आयोजित कार्यक्रममा यस्तो बताउनुभएको हो ।

पूर्वप्रधान मन्त्रीसमेत रहनुभएका देउवाले सडकमा गएर मुलुकलाई ठप्प पार्न कांग्रेसले नचाहेको भन्दै कर्मचारी माथिको थिचोमिचो भने नसहने धारणा राख्नुभयो । उहाँले राजनीतिमुक्त कर्मचारीतन्त्र चाहिएको बताउनुभयो ।

स्वास्थ्य विधेयक, कर्मचारी समायोजन जस्ता नाममा हरेक क्षेत्रमा सरकारले हस्तक्षेप गरेको आरोप लगाउँदै उहाँले कर्मचारी लगायत सेना, न्यायालय, प्रहरी पनि नियन्त्रण गरी पार्टीप्रति प्रतिबद्ध बनाउन खोजेको दावी गर्नुभयो ।

कांग्रेस नेताका नामबाट खोलिएका स्वास्थ्य संस्थाको नाम हटाउनु प्रजातन्त्र सिध्याउने खेल रहेको भन्दै आफ्ना नेताको नाम सुन्न पनि अहिलेको सरकारलाई ‘एलर्जी’ भएको उहाँको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस !