- नमोबुद्ध संवाददाता
काठमाण्डौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोही एक जना अनशन बस्दैमा देशै ठप्प हुने अवस्था आउन नहुने बताउनुभएको छ । शुक्रबार व्यवस्थापिका संसदमा काँग्रेस सांसद गगनकुमार थापाले सोधेको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री ओलीले डा गोविन्द केसीको १६ औँ अनशनका विषयमा एक जना अनशन बसेपछि देशै ठप्प हुने कानुनी विधिले लोकतन्त्र नचल्ने बताउनुभएको हो ।
सांसद थापाले प्रतिनिधिसभाको बैठकमा केसीसँगको सम्झौता पालना किन नभएको भनी सोधेको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो ‘बहुमत छ भन्दैमा म संसदलाई आदेश दिन सक्दिनँ, संसदको निर्देशन पालना गर्छु ।’ १६औँ अनशन जारी रहेको प्रति आफू जानकार रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
विधि र कानुन सार्वभौम संसदबाटै अघि बढ्ने भन्दै उहाँले संसदमा बहुमत हुँदैमा संसदका मर्यादा र गरिमालाई थिचोमिचो गर्न नसक्ने पनि बताउनुभयो ।