• बुद्ध नेपाली

सिन्धुलीको दुई सार्वजनिक स्थलमा फ्रि वाईफाई सेवा सुरु भएको छ । कमलामाई नगरपालिकाको सहयोगमा सिन्धुली अस्पताल र सिन्धुली बस पार्कमा पहिलो पटक फ्रि वाइफाई सेवा सोमबारबाट सुरु भएको हो ।

सिन्धुली अस्पतालमा एक औपचारिक कार्यक्रमकाबिच नगरप्रमुख खड्गबहादुर खत्रीले फ्रि वाइफाई सेवाको सुभारम्भ भएको घोषणा गर्नुभयो । अस्पतालमा उपचार लिन आउने विरामी, विमारीका आफन्त र बसपार्कमा बसको प्रतिक्षामा बस्ने यात्रुलाई लक्षित गर्दै यस्तो सेवाको शुभारम्भ गरिएको नगरप्रमुख खत्रीले बताउनुभयो ।

प्रमुख खत्रीले भन्नुभयो–“मोवाइलमा ब्यालेन्स सकिएको अवस्थामा आफन्तलाई खबर गर्न र डाक्टरसंग सल्लाह लिन समेत फ्रि वाइफाइका माध्ययमबाट म्यासेज दिने तथा म्यासेन्जर कल गर्न सकिनेछन् । यस्तो व्यवस्थाबाट विरामी र विरामीका आफन्तले लाभ लिन सकिनेमा म बिश्वस्तु छु ।”

कमलामाई नगरपालिका र नगर क्षेत्रका प्रमुख सार्वजनिक क्षेत्रलाई प्रविधि मैत्रि बनाउने नगरको योजना अनुसार पहिलो चरणमा अस्पताल र बसपार्क क्षेत्रमा फ्रि वाइफाइ जडान गरिएको उहाँले जानकारी दिनुभयो ।

अस्पतालमा फ्रि वाइफाई जडानले अस्पताको सेवा प्रवाह र सेवाग्राहीमा थप सहजता ल्याउने अस्पताल विकास समितिका अध्यक्ष प्रलादकुमार पोखरेलको अपेक्षा छ ।

एक पटक वाइफाई कनेक्सन गरे ४५ मिनेटसम्म निरन्तर सञ्चालन हुने र थप कनेक्सनका गर्नुपरे फेरि साइन आउट गरी कनेक्सन गर्न सकिने कमलामाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !