नमोबुद्ध संवाददाता :
काठमाण्डौं–दूरसञ्चार प्राधिकरण सीजी टेलिकमलाई मोबाइल सेवा सञ्चालनको अनुमति नदिन लागि परेको छ । उसले सीजी टेलिकमलाई मोबाइल सेवा सञ्चालनको अनुमति दिन दिइएको अन्तरिम आदेश खारेजको माग गर्दै दूरसञ्चार प्राधिकरण सर्वोच्च अदालतमा निवेदन समेत दिएको छ ।
प्राधिकरणले मंगलबार ‘अन्तरिम आदेश रद्द गरिपाउँ’ भनेर सर्वोच्चमा निवेदन दिएको हो । मन्त्रिपरिषदको २०७४ जेठ १५ मा सीजी टेलिकमलाई मोवाइल सेवा सञ्चालन अनुमति दिने निर्णय गरेको थियो तर, दूरसञ्चार प्राधिकरणले स्वीकार गरेको थिएन । त्यसविरुद्ध सर्वोच्च गएको सीजीको पक्षमा अन्तरिम आदेश आएको थियो । न्यायाधीश दीपकराज जोशीको एकल इजलासले सीजी टेलिकमलाई मोबाइल सेवा सञ्चालनको अनुमति दिने निर्णय कार्यान्वयन नरोक्न अन्तरिम आदेश दिएको थियो ।
दूरसञ्चार प्राधिकरणलाई आफ्नो कुरा राख्ने मौकासमेत नदिई अन्तरिम आदेश जारी भएकाले रद्द गर्नुपर्ने रिट निवेदकको भनाई छ । सीजीलाई पूर्वाञ्चलका १६ जिल्लाका साविकका पाँच सय ३४ गाविसमा दूरसुञ्चार सेवा सञ्चालन गर्न मात्र अनुमति दिएकाले आधारभूत टेलिफोन सेवाको अनुमति दिन नसक्ने पनि प्राधिकरणको तर्क छ ।
यसक्रममा सीजीले आधारभूत टेलिफोन सेवा सञ्चालनको अनुमति पाइसकेको भनेर अदालतलाई समेत ढाँटेको भन्दै प्राधिकरणले अन्तरिम आदेश खारेजको माग गरेको छ ।