
नमोबुद्ध संवाददाता :
काठमाण्डौं–संघीय समाजवादी फोरमले संविधान संशोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको वाचालाई सम्झाएको छ । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसहित फोरमका नेताले शनिबार प्रधानमन्त्री ओलीलाई भेटेर संसदको जारी हिउँदे अधिवेशनबाट संविधान संशोधन गर्न माग गरेका हुन् ।
फोरमका नेताले ११ बुँदे मागसहित स्मरण पत्रसमेत बुझाएका छन् । आवश्यक गृहकार्य गरी संसदको यसै सत्रमा संविधान संशोधन गर्नुपर्ने फोरमको माग छ । उपयुक्त समयमा संविधान संशोधन गर्ने सहमति गर्दै फोरम सरकारमा गएको थियो ।
जवाफमा प्रधानमन्त्री ओलीले संविधान संशोधनका लागि आफू सकारात्मक रहेको बताउनुभयो । फोरमले प्रदेश सरकार सबल बनाउनुपर्ने, कर्णाली र प्रदेश २ को विकासका लागि बिशेष योजना बनाउनुपर्ने, मधेस तथा थरुहट आन्दोलनका क्रममा नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिनुपर्ने माग पनि अघि सारेको हो ।
राष्ट्रिय जनता पार्टीले संविधान संशोधनका लागि दबाव दिइरहेका बेला सत्तारुढ फोरमले पनि यही मुद्दा उठाएको छ । भेटमा सत्तारुढ नेकपा अध्यक्ष प्रचण्ड लगायतका नेता उपस्थित थिए ।