नमोबुद्ध संवाददाता :

धुलिखेल–संघीय सांसद नविना लामाले अचेल पत्रकारिता क्षेत्रमा ठुलो विकृति देखिएको आरोप लगउनुभएको छ । यथार्थ तथ्यलाई बंग्याएर लेख्ने,चरित्र हत्या गर्ने जस्ता काम भईरहेको आरोप लागउँदै उहाँले यस्ता गतिविधिले पत्रकारितामाथिको विश्वास गुम्दै गएको टिप्पणी गर्नुभयो । शुक्रबार काभ्रेको धुलिखेलमा आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)को ३ नम्बर प्रदेश भेलालाई सम्बोधन गर्दै सांसद लामाले यस्ता विकृतिलाई चिर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो–“कानुनभन्दा माथि कोही हुदैनन्,प्रचलित कानुन नीतिनियमको अवज्ञा गर्छ भने कन्ट्रोल गर्नुपर्छ,केपीबाकै अनलाईन किन नहोस् ?” पछिल्लो समय च्याउसरि देखिएका अनलाईनको उद्धेश्यनै स्पष्ट नदेखिएको उल्लेख गर्दै उहाँले भन्नुभयो–“सामाजिक सन्जाल फेसबुकमा जसरी मनलाग्दी लेख्ने अनलाईन पनि छन्,तिनको कुनै अर्थ छैन,त्यस्ता अनलाईन किन दर्ता भईरहेको छ ? मैले त सञ्चारमन्त्रीसँग पनि चासोका साथ कुरा गरेकी छु ।”

उहाँले एक वर्ष अघि सामाजिक सञ्जालजस्तै छाडा बन्दै गएको अनलाईनहरुले आफूलाई ‘खादा काण्ड’मा मुछाएको जिकिर गर्नुभयो । आफूलाई बचाउ गर्दै सांसद लामाले भन्नुभयो–“एउटा कार्यक्रममा जाँदा ढाकाको खादा लगाईदिए आयोजकले,यसमा मेरो के दोष ? सामाजिक सञ्जालमा त्यो कार्यक्रममा जाँदा खिचिएको फोटो गलत हिसावले भाईरल बनाए मलाई बौद्ध खादा विरोधीको रुपमा चित्रित गर्दै अनलाईन पत्रकारहरु मरी मरी लागेको देखें ।”

भेलामा सहभागि आदिवासी जनजाती पत्रकारहरुलाई लक्षित गर्दै उहाँले अब विविध संस्कृतिको संरक्षण गर्ने मौका आएको जनाउँदै यसमा जागरण पैदा गराउन आदिवासी जनजाति पत्रकारहरुलाई अनुरोध गर्नुभयो ।

भेलाको समापनमा पत्रकारहरुले सांसद लामाको ‘पत्रकारलाई कन्ट्रोल गर्नुपर्छ’ भन्ने शब्द सच्याउन आग्रह गरे,उनिहरुले भने–“पत्रकारको कामलाई,गतिविधिलाई नियन्त्रण हैन,नियमन गर्ने हो,माननिय लामाज्युले यहि भन्न खोजेको हुनुपर्छ ।” अन्त्यमा हाँस्दै लामाले भने–“के हो शब्द,के पर्यो मिलाएर बुझ्नु,जे होस् यो पेशा मर्यादित र जिम्मेवार हुनुपर्छ ।”

आखिर के बोलिन् सांसद नविनाले ? जुन कुरा पत्रकारलाई मन परेन,हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस !