नमोबुद्ध संवाददाता :
काठमाण्डौं–सरकारले काठमाण्डौं उपत्यकामा आजबाट सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणाली लागू गरेको छ । मंसिर १४ देखि १७ गतेसम्म काठमाण्डौंमा हुने एसिया प्यासिफिक समिटलाई व्यवस्थित गर्न जोर–बिजोर प्रणाली लागू गर्नु परेको जनाइएको छ ।
युनिभर्सल पिस फेडेरेसनको आयोजनामा मंसिर १४ देखि १७ गतेसम्म हुन लागेको एसिया प्यासिफिक समिटमा ७ देशका राष्ट्र र सरकार प्रमुख तथा उपप्रमुख सहभागी हुँदैछन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार, आजदेखि १६ गतेसम्म चार दिन उपत्यकामा चल्ने सवारी साधनहरुमा जोर–बिजोर प्रणाली लागू भएको छ । मंसिर १३ गते आज र १५ गते नम्बर प्लेटको अन्तिमको अंक बिजोर भएको र १४ र १६ गते जोर भएका सवारी साधन मात्र चल्न पाउनेछन् ।
अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनको हकमा भने यो नियम लागू नहुने ट्राफिक प्रहरीले जानकारी दिएको छ ।