नमोबुद्ध संवाददाता :

काठमाण्डौं– नेपाल एयरलाइन्सले खरिद गरेको वाइडबडी विमान सार्वजनिक खरिद ऐन अनुसार भए नभएकोबारे संघीय संसदको सार्वजनिक लेखा समितिको ध्यान आकृष्ट भएको छ । समितिले वास्तविक के हो यसबारेको रायसहित ठोस प्रतिवेदन बुझाउन ७ दिनको अल्टीमेटम सहितको निर्देशन दिएको छ ।

समितिको बुधबार बसेको बैठकमा सोधपुछ गर्न सार्वजनिक खरिद कार्यालयका सचिव मधु रेग्मीलाई बोलाएको थियो । बैठकमा सहभागी सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रेग्मी वाइडबडी खरिदबारे मिडियामा आएको बाहेक कार्यालयलाई केही जानकारी नभएको भन्दै पन्छिन खोजेको स्रोतले बताएको छ ।

समितिले दिएको निर्देशनका आधारमा छानविन गर्न सक्ने भन्दै छानविनपछि मात्रै विमान खरिद प्रकरणबारे भन्न सक्ने सचिव रेग्मीको भनाई थियो ।

कडा कारबाही हुन्छ : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले वाइडबडी विमान खरिदमा अनियमितता गर्नेमाथि सरकारले कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ । बुधबारनै राजधानीमा आयोजित एक साक्षात्कारमा मन्त्री अधिकारीले यदि प्रक्रिया मिचेर भ्रष्टाचार गर्ने नियतका साथ त्यस्तोनै भएको हो भने भ्रष्टचारी जो कोही भएपनि कसैलाई नछोड्ने प्रतिवद्धता जनाउनुभएको हो ।

उहाँले भन्नुभयो –“भएको के हो,अनियमितता भएको भए कडा कारवाही हुन्छ तर नेपाल एयरलाइन्सलाई कमजोर बनाउने नियतका साथ छानबिन भने नगर्न आग्रह गर्छु ।”

विमान खरिद प्रक्रियामा आफ्नो संलग्नता नरहेको उहाँको स्पष्टोक्ती छ । उहाँले विमान खरिद प्रकरणको गम्भीरतापूर्वक छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह पनि गर्नुभयो । मन्त्री अधिकारीले संसदीय समिति, अख्तियारलगायतको छानबिन प्रतिवेदन नआएसम्म धैर्य गर्नुपर्ने पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !