
नमोबुद्ध संवाददाता :
काठमाण्डौं–शहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत बुधबार आज चार टोली आमुन्नेसामुन्ने हुदैछन् । आजको दुई वटै खेल निकै कडा प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । पहिलो खेलमा हिमालयन शेर्पा र मछिन्द्र भिड्दैछन् । यि दुई टोलीको भिडन्त चौथो चरणको अन्तिम दिनको खेल अन्तरगत बिहान ११ बजेबाट ललितपुरको सातदोबाटो स्थित एन्फा टेक्निकल सेन्टरमा हुदैछ ।
लिगको सुरुवाती नतिजालाई हेर्दा मछिन्द्र भन्दा हिमालयन शेर्पा बलियो देखिन्छ । हिमालयन शेर्पा ३ खेलबाट ७ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । एक खेल गुमाएको मछिन्द्रले दुई खेलमा बराबरीको नतिजा निकाल्दै २ अंक सहित तालिकाको ११ आँै स्थानमा छ । यद्यपी मछिन्द्र आफ्ना कमजोरीलाई सच्याउदै अघि बढ्ने प्रणमा छ ।
यस्तै आजै हुने दोस्रो खेलमा फ्रेन्ड्स क्लब र जावलाखेल युथ क्लबबिच प्रतिस्पर्धा हुनेछ । लिगको पुछारमा रहेको दुवै टोलीबीचको खेल एन्फा मैदानमै दिउँसो साढे २ बजेबाट सुरु हुनेछ । अंकविहिन रहेको दुवै टोली आज भने जित निकाल्दै अङ्क जोड्ने लक्ष्य सहित मैदानमा उत्रन कस्सिएका हुन् ।