नमोबुद्ध संवाददाता
काठमाण्डौं–नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेकपा नेतृत्वको सरकारको काम–कारवाहीप्रति असन्तुष्टी व्यक्त गरेको छ । गणतन्त्र आएपनि त्यो नेताहरुकै मुठ्ठिमा रहेकोले सामन्ती प्रवृत्ति अझै निमिट्यान्न नभएको उक्त पार्टीको भनाई छ ।
पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्माले ९ महिनासम्म बर्तमान सरकारले कुनै काम गर्न नसकेको आरोप लगाउनुभयो । पार्टीले शनिबार राजधानीमा गरेको सभालाई सम्वोधन गर्दै विश्वकर्माले यस्तो बताउनुभएको हो ।
सरकारले जनपक्षिय काम नगरेकोले जनतामा निरासा बढेको उहाँको भनाई छ । सर्वहारा जनता र सम्पन्न वर्गबिच झनै खाडल देखिएको भन्दै उहाँले प्रश्न गर्नुभयो–नेताहरू रातारात धनी कसरी भए ?
उहाँले देश अहिले विदेशीको नियन्त्रणमा जस्तो देखिएको टिप्पणी पनि गर्नुभयो । राष्ट्रलाई मुक्ति दिलाउन लागि अन्तिम आन्दोलन जरुरी भएको उहाँको दाबी छ । राष्ट्रघातिहरुका विरुद्ध लाग्न सवै नेपाली जनतालाई सैनिक तालिम जरुरी भएको प्रकाण्डको जोड छ ।
१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समयसम्म पनि सरकारले दोषीलाई कारबाही गर्न नसकेको भन्दै उहाँले पन्तका हत्याराको पहिचान आफ्नो पार्टीले गर्ने बताउनुभयो । पन्तको हत्याको विरोधमा मंसिर १६ गते देशब्यापी विरोध कार्यक्रम गर्ने समेत नेकपाले जनाएको छ ।