धुलिखेल–चाडवाडको मुखैमा सवारी भाडा बढाएको सरकारले यहि मौका छोपी सवारी साधनबाट यात्रु ठगिन सक्ने भन्दै सचेतना अपनाएको छ । दशैं मनाउने शिलसिलामा आउजाउको क्रममा यात्रुलाई टिकट नदिने,तोकिएभन्दा बढि भाडा लिने तथा क्षमताभन्दा अधिक यात्रु बोक्ने सवारी साधनलाई तत्काल कारवाही गरिने भएको हो ।
सरकारको यातायात व्यवस्था विभागले तोकेभन्दा एक रुपैयाँ मात्र बढी भाडा लिए पनि पाँच हजार जरिवाना गरिने जनाएको छ । विभागले सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित जानकारी गराउन आग्रह गरेको छ ।
विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले परिचालकले टिकट नदिए पनि सवारी नं सहित विभागको फ्याक्स नं ०१४४७४९२२ मा फ्याक्स गरी वा ०१४४७९६९० मा फोन गरि उजुरी गरे तत्काल तिनको सुनुवाईमा तदारुकता देखाउने बताउनुभयो ।
विभागले गत असोज ७ गते सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाएपछि चार किलोमिटरसम्मको भाडा रु १४ तोकिएको छ । पाँच किमिसम्म रु १६, छ किमिसम्म रु १७, आठ किमिसम्म रु १८, १९ किमिसम्म रु २६ र १९ किमिभन्दामाथि रु २७ भाडा निर्धारण गरिएको विभागले जनाएको छ । विभागले उपत्यकाका साथै स्थानीय ‘रुट’ मा यो भाडादर निर्धारण गरी लागू गरेको प्रवक्ता उपाध्यायले बताउनुभयो ।