नगरकोट– मृगौला पीडित राजकुमार मगरलाई आर्थिक सहयोग जुटाउने उद्धेश्यले काभ्रेको नगरकोट बालुवापाटीमा साँस्कृतिक कार्यक्रम गरिने भएको छ । असोज २० गते शनिवार पूर्व सभासद एवं नेपाली काँग्रेसका नेता कञ्चन चन्द्र वादेको प्रमुख आतिथ्यतामा वृहत साँस्कृतिक कार्यक्रम गरिने भएको हो ।
कार्यक्रममा चर्चित सेलो गायिका जितु लोप्चन,गायक प्रयास दोङ,जगत घिसिङ लगायतका दर्जन कलाकारहरुले प्रस्तुति दिनेछन् । यो कार्यक्रममै समाजसेवीहरुले सहयोग रकम हस्तान्तरण गर्नेछन् ।
पीडित परिवारको आर्थिक अवस्था कमजोर रहेका कारण रकम जुटाउन यो कार्यक्रम गर्न लागेको मृगौला पीडित “राजकुमार बचाऔं अभियान” अन्र्तगत कार्यक्रम संयोजक वाङजुराज वाइवाले जानकारी दिनुभयो ।
मन्डन देउपुर नगरपालिका वडा नम्बर १ बालुवापाटी मस्यार गाउँका लिला बाहदुर मगरका २२ वर्षीय छोरा राजकुमारको दुबै मिर्गौलाले काम गर्दैन ।
पछिल्लो समय मृगौला पिडितलाई सरकारले निशुल्क उपचार गर्ने भएपनि मृगौला दान गर्न जोकोही आफन्त तयार हुदैनन् जसले गर्दा तस्करमार्फत मृगौला प्राप्त गर्नुपर्छ,त्यसमा एउटा मृगौलाको कम्तीमा ५ लाख तिर्नुपर्ने बाध्यता छ ।
साथै उपचारका लागि आउजाउ खर्च,खानपान लगायतको खर्च जोड्दा पन्ध्रौं लाख रुपैयाँ लाग्छ,यत्ति रकम सामान्य नपालीका लागि धेरै ठूलो हो । यसैले मृगौला पिडितको उपचारका लागि रकम संकलन अभियान चलाउनुपर्ने अभियानकर्मीहरु बताउँछन् ।