कृतिका घलान,
मथुरापाटी–“सामाजिक समस्याको अब गर्दै चित्रण,किशोरीहरुको जीवन उकास्ने हाम्रो एउटै प्रण” भन्ने नाराका साथ अघि बढेको मथुरापाटी फूलबारी स्थित मथुरापाटी किशोरी समुहले अचेल निदहाडै भईरहेको किशोरी तथा महिला हिंसाको विरोध गर्यो । काभ्रेको नमोबुद्ध नगरपालिका मथुरापाटीमा शनिबार “किशोरीहरुको अवस्था र समृद्ध नेपालको निर्माण” विषयक अन्र्तक्रिया गर्दै स्थानिय किशोरीहरुले पश्चिम नेपालमा बलात्कृत निर्मला पन्त जस्ता पिडित किशोरी महिलाहरुको न्यायको माग गरे । आधा धर्ती ढाकेका महिलाहरुको सुरक्षा छैन भने कसरी बन्छ समृद्ध नेपाल ? उनिहरुले प्रश्न गरे । गीत मार्फत उनिहरुले यसमा ऐक्यवद्धता खोजे । कानुन निर्माणमा तदारुकता देखाउने सरकार ति कानुन कार्यन्वयनमा पनि कडाईका साथ प्रश्तुत हुन सक्नुपर्ने उनिहरुको भनाई छ ।

किशोरी तथा महिलाहरुलाई अझै संकुचित सोचाईले हेर्दा सोचेजस्तो सकारात्मक परिवर्तन आउन नसकेको किशोरी समुहका संगीता भुजेलको भनाई छ । उनिहरुको यो भावनाको सम्मानका लागि सहभागि नमोबुद्ध नगरपालिकाका उपप्रमुख (उपमेयर) तथा न्यायिक समति प्रमुख रामदेवी तामाङले आफू महिला हिंसा मुक्त नगर बनाउने अभियानमै रहेको बताउनुभयो । उहाँले भन्नुभयो–“जीवनमा मैले पनि महिला हिंसाका थुप्रै घटना वेहोरेको छु,हामीलाई यिनीहरुको बोल्ने मान्छे कोनै छ र ? भनेर कमजोर ठान्छन् र त्यहि मुताविक व्यवहार गर्छन् अनि तिनको सिकार हामी भईरहेका हुन्छौं तर धेरै चिन्ता मान्नु पर्दैन, सिंगो नगरपालिकानै किशोरी तथा महिला बचाउको पक्षमा छ ।”



















