• नमोबुद्ध संवाददाता

काठमाडौं– हाइकिङ, चित्र अनि कविता । अघिल्लो महिना धुलिखेलबाट यस्तै एउटा भिन्न यात्राको शुरुवात भएको थियो । नाम दिइएको थियो– जेसुम यात्रा । स्थानिय संस्कृति, पात्र, विषयबस्तु, परिवेशसँगै स्थानिय विम्ब र प्रतीकहरु खोजी गर्दै कला, साहित्य र रंगमञ्चमार्फत समाजमा सकारात्मक उत्प्रेरणा फैलाउने उदेष्य बोकेको यो ‘जेसुम यात्रा’ को दोस्रो श्रृंखला भने शनिबार नगरकोटमा सम्पन्न भयो ।

जेसुम अर्थात सौन्दर्य । गहना र आभुषणको पनि अर्थ दिन्छ तामाङ भाषाको यो शब्दले । धुलिखेल डाँडामा कविहरु अनिता लामा, फूलमान वल, नरेन्द्रकुमार नगरकोटी, दिनमान गुर्मछान, बाबु साइँला, वरिष्ठ संचारकर्मी बालकृष्ण बस्नेत, संचारकर्मी जगत तामाङ, चित्रकारहरु देवेन्द्र थुम्केली, लालकाजी लामा, एनबी गुरुङ, केशवराज खनालबिच लगभग एक घण्टाको छलफलपछि अभियानलाई ‘जेसुम यात्रा’ नामाकारण गरिएको थियो ।

समाजको विविधतालाई जोडेर सदभाव र सम्मृद्धि निर्माणका लागि पनि अभियानले सघाउने जेसुम यात्रीहरुको दावी छ ।

समाजमा पछिल्लो समय नकारात्मकता बढ्दै गइरहेको बेला सामाजिक–सांस्कृतिक विविधतालाई जोड्दै कलाका माध्यमबाट सदभावपुर्ण र सम्बृद्ध नेपाल निर्माणमा सघाउने ध्येय समेत बोकेको यो अभियानको दोस्रो श्रृंखला उत्तिकै रोचक र अर्थपुर्ण रह्उो ।

काठमाडौंको जहरसिंह पौवाबाट शुरु हाइकिङ सुनडोल कात्तिके भन्ज्याङ हुँदै पाँच घण्टामा नगरकोट बतासेडाँडा पुगेको थियो । छेवैमा पिकनिक चलिरहेको बेला चित्रकार एनबी गुरुङसहित लालकाजी लामा, बाबु साइँला र डिबी राईले एकाग्रताका साथ स्थानिय दृष्यहरु क्यानभासमा सजाएका थिए । लालकाजीले बौद्ध दज्र्यु र बादलको थाङका–पौभाको रेखा सापटी लिएर आफ्नो क्यानभास रंग्याउँदै गर्दा कविहरु भने डायरी लिएर सिर्जनाकार्यतिर लागेका थिए । बाबु साइँला र डिबी राइले पनि प्रत्यक्ष प्रकृतिका दृष्य कोरे । डिबीले क्यानभास हेर्दा भुकम्पपछि स्थानियपनमा देखिएको बदलाब जस्ता आकृति पनि देखिन्थ्यो । हरियाली जंगलकाबिच जस्ता पाताले छाएका घरहरुको दृष्य भने उनले बाटोमा हिँड्दै गर्दा नगरकोटकै सैनिक क्याम्पको क्लिक गरेका थिए ।

चित्रकार एनबी गुरुङले वाटर कलरमा रुख उभ्याउँदै गर्दा छेवैमा डायरी लिएर क्यानभासमा नियाल्दै थिइन् कवि अनिता लामा । एनबीले चित्र कोर्ने क्रममा रुखकै छेऊ साइकल अड्याइराखेको दृष्य बनाए । खासमा एनबीले आफ्नै अघिल्तिरको दृष्य उतारेका थिए । क्यानभासभित्रको साइकललाई भने कवि अनिताले बलात्कार पछि मृत भेटिएकी निर्मला पन्तको संवेदना पोख्ने माध्यम बनाइन् । र, सिरसिरे हावा चल्दै गर्दा उनले निर्मला सम्झेर प्रत्यक्ष कविता सुनाइन् ।

चित्र र साहित्य सिर्जना एक साथ गरिएपछि तत्कालै डाँडामा चित्र सजाउँदै कविहरुले आ–आफ्ना सिर्जना सुनाए । अनिताले लालकाजीकै चित्रमाथि पनि कविता लेख्न भ्याइन् । कवि एवं नाटककार फूलमान वलले नगरकोटलाई तामाङ समुदायको नजरबाट हेर्दै यसको पुरानो र सांस्कृतिक सौन्दर्यको बखान गरे आफ्नो कविता ‘आदिबासी गीत’मा । रमेश कँडेल, शान्ति वाइबा र अस्मिता अधिकारीले पनि आ–आफ्नो अनुभुतिलाई शब्दमा सजाए । चित्रकार भएपनि बाबु साइँला कविहरुको पंक्तीमा उभिन भ्याए । उनले मुलुकको राजनीतिक विसंगतीमाथि प्रहार गर्दै गजल सुनाए ।

यो अभियानमा जो पनि संलग्म हुन सक्ने गरि स्वतन्त्र संरचना बनाइएको अभियानका संयोजक अनिताले बताइन् । केही श्रृंखलापछि चित्रहरु ग्यालरीमा प्रदर्शनी गर्ने र साहित्यिक सिर्जनाका पुस्तक समेत प्रकाशित गर्ने पनि उनले जनाइन् । समाजको विविधतालाई जोडेर सदभाव र सम्मृद्धि निर्माणका लागि पनि अभियानले सघाउने उनको दावी छ ।

प्रतिक्रिया दिनुहोस !