धुलिखेल–जुगल एशोसिएसन नेपालद्धारा सञ्चालित,काभ्रे लगायत आसपासका जिल्लाकै पहिलो सामुदायिक रेडियो,रेडियो नमोबुद्ध एफएम १०६.७ मेगाहर्जले १२ वर्ष पार गरेको छ । रेडियोले आफ्नो यो १२ वर्षे यो यात्रालाई सफल रहेको ठहर समेत गरेको छ ।
मुलुकमा राजनीतिक क्रान्ती पुरा भएपश्चात ति क्रान्तीद्धारा प्राप्त उपलब्धी संस्थागत गर्ने सिलशिलामा विभिन्न समुदायको अर्थपूर्ण सहभागिता खोजि भईरहेको बखत स्थापना भएको रेडियोले तिनको सहजिकरणका साथै स्थानियलाई आफ्नो समुदाय निर्माणमा जागृत गरेको दावी गरिएको हो ।
०७२ बैशाखको भुकम्पपछि रेडियो झनै समुदायको अभिन्न अंग बन्न सफल भएको दावी गर्दै सञ्चालक समिति अध्यक्ष भक्त स्याङतानले भन्नुभयो–“विपत्को बेला यस्ता सामुदायिक रेडियोको महत्व झनै देखियो,त्यस बखत मानविय उद्धार,राहात र उनिहरुको पुनस्र्थापनामा पुलको काम गर्यो ।”
सीमान्तकृत समुदायको अधिकार प्राप्तीदेखी आज “समृद्ध नेपाल,सुखी नेपाली” को सपना साकार पार्न जनसहभागिता जुटाउन,राज्यलाई खबरदारी गर्न निरन्तर क्रियाशिल रहेको स्टेशन म्यानेजर हिरामान लामाले बताउनुभयो ।
रेडियोले समाचारका साथै खस भाषाका अलावा झण्डै दर्जन आदीवासी समुदायका भाषाभाषीका कार्यक्रममार्फत साँस्कृतिक,राजनीतिक,सामाजिक,आर्थिक जागरणका कार्यक्रमहरु गर्दै आएको छ ।
शुक्रबार १३ औं वार्षिक उत्सवको आयोजना गरि रेडियोले झण्डै दुई दशकपछि जनप्रतिनिधि पाएका समुदायलाई राज्यको उपस्थीति गराउन स्थानिय सरकारसँग मिलेर अघि बढ्ने योजना रहेको समेत जनाईयो । रेडियो २०६३ असोज १२ गते स्थापना भएको हो ।