ज्याम्दी–भुकम्पको क्षतिपश्चात पुनःनिर्माणले तंग्रीदै गरेको मण्डन देउपुर नगरपालिका १२ ज्याम्दी तथा भिमटार भेगका स्थानिय आधुनिक प्रविधिबाट बनाईएको स्वास्थ्य चौकीको पक्की भवन पाएपछि खुसी देखिएका छन् । “चर्किएको,भत्कीएको ठाउँमा उपचार लिन जाँदा कता कता डर हुन्थ्यो,कतै फेरि भुकम्प आउला र भत्किएर ज्यान जाला भन्ने त्रास हुन्थ्यो”–स्थानिय ५८ वर्षीया उमा पराजुलीले भन्नुभयो –“आज हामी धेरै खुसी छौं,अब सुत्केरी बेथाले मनुपर्दैन होला महिलाहरुले ।” कोरियन प्रविधिबाट बनेको यो भवनबाट सरकारले दिने निशुल्क औषधीदेखी,बर्थिङ सेवा सम्म पाउने अपेक्षा स्थानियले गरेको उहाँको कुराबाट प्रष्ट हुन्छ ।
कोरियन रेडक्रसको रु ७५ लाखको सहयोगमा बनेको ११ कोठे स्वास्थ्यचौकी भवनको बिहिबार सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले उद्घाटन गर्नुभयो । यहाँकै स्थायी बासिन्दा समेत रहनुभएका मन्त्री बाँस्कोटाले सबै पक्षको साझा प्रयासबाट यो उपल्बधी हाँसील भएकोले सबै मिलेरै दिर्घ रुपमा यसको सञ्चालन गरी फाईदा लिन सक्नुपर्ने बताउनुभयो ।
“द्धन्द र भुकम्पबाट हामीले जुन खालको पिडा खेप्यौं यो भन्दा बढि कोरियालीले खेपेका छन् त्यसैले यो मर्मलाई नजिकबाट बुझेर कोरियन रेडक्रसमार्फत हाम्रो गाउँलाई यो सहयोग मिल्यो ।” अधिकारको लडाँई समाप्त भईसकेको दावी गर्दै उहाँले भन्नुभयो–“कोरिया बनेको सन् २००७ पछि नै हो,अब हामीले यसरीनै निर्माणको युद्ध सुरु गर्नुपर्छ,हामीले सुख अनुभुत गर्ने समृद्धि हाँसील गर्नुछ ।”
कार्यक्रममा मण्डन देउपुर नगरपालिकाका प्रमुख टोक बहादुर वाईवाले अब छिट्टै नगरपालिकामा सुविधासम्पन्न अस्पताल बनाउने तयारी भईरहेको जानकारी दिनुुभयो । प्रदेश सांसद लक्ष्मण लम्सालले चुनावका बेला जनतामाझ खाएको कसम नविर्सेको बताउनुभयो । उहाँले भन्नुभयो–“मण्डन देउपुर भिमटारको सिञ्चाईका लागि बजेट छुट्टाईसकेका छौं,नगर अस्पतालका लागि जग्गाको खोजी भईंरहेको छ,अवश्य यसरीनै हामी हामी तपाईहरुकै माझमा रहिरहनेछौं ।”–
जिल्लामा अन्य स्थानिय तहको तुलनामा भुकम्पले अधिक क्षति गरेको मण्डन देउपुर नगरपालिकावासीको साथमा जनप्रतिनिधिसँगै रेडक्रस काभ्रेले तदारुकताका साथ सहजिकरण गरिरहेकोमा स्थानिय खुसीनै छन् । यो पटक कोरियन रेडक्रससँगको सहकार्यमा स्वास्थ्यचौकी भवनसँगै एउटा आवास भवन समेत निर्माण गरिएको रेडक्रस काभ्रेका सभापति रघुबर चौप्रधानले जानकारी दिनुभयो । स्थानियको जीवनस्तरमै परिवर्तन ल्याउने गरी रेडक्रसले अन्य विभिन्न क्षेत्रमा पनि कार्यक्रमहरु गर्दै आएको उहाँले बताउनुभयो ।
कार्यक्रममा स्वास्थ्यचौकी भवन बनाउन जग्गा दान गर्ने स्थानीय निलकण्ड पराजुली,शिवराम पराजुली,रघुनाथ पराजुली,हरिप्रसाद पराजुली,नानीराम पराजुली,मायादेवी पराजुली लगायतलाई सम्मान पनि गरियो ।