बनेपा—काभ्र्रेमा डेढ दर्जनको हाराहारीमा पत्रपत्रिका,दर्जनको संख्यामा रेडियो,अनलाईन र केहि टेलिभिजन सञ्चालनमा छन् । समुदायलाई स्वःपरिचालन गर्न, विधिको शासन विद्यमान राख्न र समाजमा रहेको विकृति न्युनिकरण गरी न्यायोचित समाज निर्माणमा महत्वपुर्ण भुमिका खेल्ने भएकोले नै राज्यको चौथो अंगको मान्यता प्राप्त छन् यि सञ्चार जगत ।
यद्यपी राजनीतिक संक्रमण सकिएको यो अवस्थामा,जनप्रतिनिधिमुलक स्थानिय तहको मनोमानी उस्तै रहेको आजको यो वखत कत्तिलाई लाग्छ यि सञ्चार जगत पनि आँखामा पट्टि बाँधेर बसेका छन् । अचेल किन चल्दैनन् कलमहरु ति वेथितीको भण्डाफोरका खातिर ? किन बोल्दैनन् निर्धक्क आवाज विहिनहरुको आवाज ?
यिनै आरोप या तितो कटुताकैबीच जिल्लाको बनेपाबाट स्वतन्त्र निकायमार्फत यो मंगलबारदेखी “त्रिवेणी सञ्चार” साप्ताहिक पत्रिका प्रकाशनमा आएको छ ।
मोफसलको पत्रकारितामा राम्रो सम्भावना रहेको मानिएको काभ्रेमा “त्रिवेणी सञ्चार”पत्रिकालाई सूचना,समाचार र मनोरञ्जनको यि तीन पाटोलाई संगम बनाउने गरी त्रिवेणी मिडिया प्रालिले प्रकाशनमा ल्याएको हो । जिल्लामा यस पत्रिकाले नयाँ इट्टा थप्ने काम त गरेको छँदैछ अझ यसबाट स्थानिय पनको आभास मिल्ने अपेक्षा समेत गरिएको छ ।
प्रालिले मंगलबार बनेपामा एक औपचारिक समारोहको आयोजना गरी आफ्नो साप्ताहिक पत्रिकाको पहिलो अंक सार्वजनिक गर्यो ।
जिल्लाका १३ स्थानिय तहहरुमा केहिले आफ्नै ढंगले लगानी गरी मनोमानी रुपमा सञ्चार माध्यम चलाउने मनस्थीतिमा पुगेको लगायतका चुनौतीकाबीच जन्मीएको “त्रिवेणी सञ्चार” लाई विभिन्न व्यक्तित्वहरुले हिम्मत बटुलेर पाईला चाल्न शुभकामना व्यक्त गरे ।
काभ्रेबाट प्रतिनिधिसभामा निर्वाचित सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले “समृद्ध नेपाल सुखी नेपाली” अभियानमा स्थानिय सञ्चार माध्यमहरुको पनि मत्वपुर्ण भुमिका रहनुपर्ने बताउनुभएको छ ।
शुभकामना सन्देशमार्फत मन्त्री बाँस्कोटाले
जनसरोकारका विषयहरुलाई आम समुदायमाझ प्रभावकारी रुपमा पुर्याउदै मुलुकको विकास तथा समृद्धि र विशेष गरी काभ्रे जिल्लाको समग्र विकासमा “त्रिवेणी सञ्चार”ले महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको हो ।
पत्रिकाको पहिलो अंक सार्वजनिक समारोहका प्रमुख अतिथि संघीय सांसद गंगावहादुर दोङ्ग(बमध्वज)ले पनौतीको त्रिवेणी धामलाई सफा सुग्घर बनाई साँस्कृतिक पर्यटकिय स्थल बनाउनुपर्ने आजको आवश्यकता जस्तै पत्रकारिताभित्रका विकृति विंगतिलाई समेत चिरफार गर्दै सभ्य समाज निर्माण गर्न “त्रिवेणी सञ्चार” सफल हुनुपर्ने बताउनुभयो । उहाँले अझै ग्रामिण क्षेत्रमा मिडियाले खासै रोल खेल्न नसकेको औंल्याउदै त्यो अभाव पुरा गर्न तथा आवाज विहिनहरुको आजाव बन्न सकोस् भनि शुभकामना दिनुभयो ।
नेपाल पत्रकार महासंघका अध्यक्ष मोतिराम तिमल्सीनाले यस पत्रिकालाई भिन्न खुराक पस्केर अन्य सञ्चार माध्यमभन्दा फरक रुपमा प्रश्तुत हुन सक्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले मंगलबारको पहिलो अंकमै पत्रकार महासंघ काभ्रेको तर्फबाट जारी गर्नुभएको शुभकामना सन्देशमा उल्लेख छ—“मुलुकमा पछिल्लो समय नेपाली प्रेसमाथि बढिरहको आक्रमणको स्थिती र विद्यमान संक्रमणकालिन अवस्थाका बीच स्वतन्त्र प्रेसको अस्तित्व र व्यवसायीक धर्मलाई बचाउदै पे्रस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सुसुचित हुन पाउने अधिकारप्रति प्रतिवद्ध रही आफुलाई अगाडी बढाउन सकोस् भन्ने कामना छ ।”
पत्रिकाका सम्पादक रोजन तामाङ्गले स्थानिय सरकार र नागरिकबीचको खाडल पुर्न विशेष भुमिका खेल्ने बताउनुभयो ।
स्थानिय शुसासन,पारदर्शि तथा जवाफदेहीताका सवालमा शसक्त ढंगले अघि बढ्ने उहाँको प्रतिवद्धता छ । यसले स्थानिय तहमा जनहितका काम के कति भईरहेको छ ? जस्ता विषयलाई फलो गरी स्थानिय तहलाई जनउत्तरदायी बनाउन सहयोग गर्ने उहाँको भनाई छ । जस कारण काभ्रेमा खोज पत्रकारिताको अभ्यास अघि बढाउन हौसला मिल्ने दावी पनि उहाँले गर्नुभयो ।
त्रिवेणी मिडया प्रालिका अध्यक्ष उपेन्द्र शर्माले समृद्ध नेपाल निर्माण अभियानको क्रममा आफ्नो जिल्लामा सञ्चारको माध्यम हुदै जनताको असली सच्चा पहरेदार बन्न आफुहरु “त्रिवेणी सञ्चार”का साथ आएको बताउनुभयो ।