नमोबुद्ध संवाददाता
बनेपा–सफल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो दशक वर्षमा काभ्रेपलाञ्चोक जिल्लाभर आफ्नो छुट्टै पहिचान बनाएको छ । हाल जिल्लाभर कार्यक्षेत्र बनाई यो सहकारीले समुदायको सामाजिक,आर्थिक तथा साँस्कृतिक परवर्तनमा अहम भुमिका निर्वाह गर्दै आएको कुरा दशौं वार्षिक साधारणसभामा स्पष्ट पारिएको छ ।
विधिवत रुपमा बनेपा नगरपालिका –०६ मा २०६५ मा स्थापना गरिएको सहकारीले शनिबार बनेपामा आफ्नो दशौं वार्षिक साधारणसभा गर्दै यसबारे स्पष्ट पारेको हो ।
साधारणसभाको औपचारिक समारोहमा संस्थाका सचिव जेनिश लामाले वार्षिक प्रगति प्रतिवेदन तथा २०७४÷०७५ को लागि प्रस्तावित कार्यक्रम सार्वजनिक गर्नुभयो ।
उहाँले सहकारीको नियम,मुल्य,मान्यता र सिदान्तबाट कत्तिपनि विचलित नभई लागि परेको उल्लेख गर्नुभयो । संस्थाले सदस्यहरु बीचमा छरिएर रहेका स–साना पूँजीहरुलाई एकिकृत गरी सोहि सदस्यहरुलाई विभिन्न उलब्धीमुलक शिर्षकमा कर्जा लगानी गरी आर्थिक तथा सामाजिक रुपले मात्र नभई व्यवसायिक र दक्ष बनाउने भुमिका निर्वाह गर्दै आएको जानकारी दिदैं उहाँले भन्नुभयो–“हामीले छुट्टै पहिचान बनाउन सकेका छौं,वास्तवमा सहकारीमार्फत समुदायको अग्रणी परिवर्तनमा हामी सफल भएका छौं ।”
उहाँले हालसम्म संस्थामा १२ करोड बराबर जायजेथा रहेको जानकारी गराउँदै यि पूँजी संस्थाका सदस्यहरुकै हितका लागि चलायमान रहने बताउनुभयो । सचिव लामाले आर्थिक शुषासन,पार्दशिताका साथै जवाफदेहीताको सवालमा समेत आफुहरु असल अभ्यासमा रहेको दावी गर्नुभयो ।
सदस्यहरुको भावनाको सम्मान गर्दै हाल निरन्तर आर्थिक सहभागिता केन्द्रित कार्यक्रमहरु ल्याएको जानकारी गराउँदै उहाँले सदस्यहरुबाट नियमित खाता चलायमान राखी यसमा सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । गत आर्थिक वर्षमा जस्तै युवा स्वरोजगार कोषसँग आगामी दिनहरुमा पनि सहकार्य रहने उहाँको भनाई छ । सो कोषको कार्यक्रमबाट अहिलेसम्म ५७ जना लाभान्वीत भएको जानकारी दिनुहुदै उहाँले यो पटक उक्त कोषमार्फत २ करोड बराबरको कार्यक्रम ल्याउने बताउनुभयो ।
संस्थाका कोषाध्यक्ष विश्वजित श्रेष्ठले आर्थिक वर्ष २०७४÷०७५ को आर्थिक प्रतिवेदन प्रश्तुत गर्दै यस वर्ष २ करोड बराबर आम्दानी गर्न सफल भएको बताउनुभयो । लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सार्वजनिक गर्ने क्रममा समिति सदस्य छितिज लामाले कुल सदस्य संख्या ९ सय ४ जना रहेको सफल सहकारीमा वित्तिय कारवाही चुस्त दुरुस्त र अनुशासित रहेको जानकारी दिनुभयो । उहाँले यस सहरकारीका सदस्यहरु जिल्लाभर रहेकाले सेवाकेन्द्रहरु विस्तार गर्न आग्रह गर्नुभयो ।
समारोहका प्रमुख अतिथि जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष विनोद पराजुलीले बैंकहरुमा गरिने वित्तिय कारोबार र सहकारीको करोबारबारे रहेको भ्रम चिर्न सफल हुनुपर्ने बताउनुभयो । सहकारी सहकारीकै सदस्यहरुको अपनत्व महसुस हुनेगरी सञ्चालन गर्नुपर्ने भएकोले यस कार्यमा सदस्यहरु सबै जिम्मेवार बन्नुपर्ने उहाँको भनाई छ ।
समाजिक,आर्थिक,साँस्कृतिक पाटोमा सफल सहकारीले खेलेको भुमिकाको प्रशंसा गर्दै उहाँले अब वातावरणीय सन्तुलनको सवाल पनि सहकारीको उदेश्य बन्नुपर्ने बताउनुभयो । “जलवायु परिवर्तनका कारण आज हामी प्रत्यक्ष मार खेप्दै छौं,यसमा अब हामी पनि संगै मिलेर जुद्दनुपर्नेहुन्छ ।”–उहाँले भन्नुभयो “ वाताबरणीय प्रदुषण रोक्ने सचेतना अभियान तथा अन्य कार्यक्रमहरुमा हामी जोडिन आवश्यक देखिन्छ, विश्वभरनै यो मान्यताको विकास बल्ल सुरु भएको छ ।”
सहकारीका अध्यक्ष विजय लामाले संस्थासँग ढुक्कले कारोबार गर्न सदस्यहरुलाई आग्रह गर्नुभयो । संस्थाको दिगो विकास तथा प्रगतिका लागि उल्लेख्य पूँजी बृद्धि गर्ने,बचत तथा ऋण शिर्षकहरुमा विभिन्न आकर्षक योजनाहरु ल्याई आफ्नो सदस्यहरुलाई छिटो,सरल र सुलभ तरिकाबाट कारोबार गराउने वातावरण अझ व्यवस्थीत गराउदै जाने उहाँको प्रतिवद्धता छ ।