नमोबुद्ध संवाददाता

भक्तपुर–तामाङ कथानक चलचित्र “घ्रान” (कसम) लाई भक्तपुरका दर्शकले पनि रुचाएका छन् । शनिबार बेलुका बाराही हलमा गरिएको प्रदर्शनमा हल भराउन “घ्रान” लाई खासै मुस्कील परेन । रोजगारी र अध्ययनका क्रममा उपत्यका आसपासका अधिकांश जिल्लाका तामाङहरुको बाक्लो बसोबास रहेको भक्तपुरका उनिहरु ढिला गरेर भए पनि यो चलचित्र हेर्न आए ।

सिट क्षमता अनुसार मात्र ठिक्क दर्शकको सहभागिताले सबैले आरामदायिपुर्वक चलचित्र हेर्न पाएकोमा खुसी व्यक्त गरे । शम्भु घिसिङ,सागर घिसिङ लगायतद्धारा निर्मित “घ्रान” हेरेपछि काभ्रे कोशीपारी नाग्रेकी विमला लामाले यस्तो प्रतिक्रिया दिनुभयो–“यो फिल्मको नाम सुन्दानै कस्तो होला भन्ने कौतुहलता थियो,गाउँमा थिचोमिचो गर्नेलाई मार्न गरिएको बाचा पो रहेछ “घ्रान”, हेर्न पाईयो,खुसी लाग्यो ।” भक्तपुरमा गलैंचा बुन्दै जिवीकोपार्जन गर्दै आउनुभएका विमलाको साथमा रामेछापका अरु २ जना साथीहरु पनि थिए । उनिहरु दुईलेचाँही यस चलचित्रमा कलाकारको अभिनय र गीत मन परेको बताए ।

सिन्धुपाल्चोक ठुलो पाखरकी साईलीमाया तामाङले भने विगत द्धन्दकाल सम्झनुभयो । “घ्रान” प्रदर्शन सकिंदा रातको झण्डै ८ बज्नै लागेको थियो । अन्दाजी ५५ वर्षकी साईलीमायाले बाहिरिदै हतार हतार भन्नुभयो –“यो फिल्मले माओवादीको युद्ध काल सम्झायो,पहिला पहिला गाउँमा त्यस्तै थियो,राम्रोकै लागि बन्दुक बोकेका भन्थे तर भन्या जस्तो कहाँ हुन्छ र ? उत्तिबेला पनि जसको शक्ति उसैको भक्ति ।”

द्धन्द कालमा नेपालीले भोगेको बास्तविकतालाई कतै न कतै छुवायो “घ्रान”को कथाले । तत्कालिन सामन्ती सत्ताले पारेको पिडा पनि सम्झायो । मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आयो,के आज पनि कतै न कतै सर्वसाधारण यस्तै जीवन त जिईरहेका छैनन् ? अन्ततगत्व यो प्रश्न छोडिदिएको छ यो चलचित्रले ।

चलचित्र नसकुञ्जेल गाउँमा जिवितै रहेको सामन्तीको ज्यादतीको प्रतिकारमा गाउँलेलाई विउँझाउन उर्जा दिईरहेको भान हुन्छ । त्यसैमा उक्साईरहेको हुन्छ । चलचित्रको सुरुमै गन्तव्य के हो भन्ने कुरा स्पष्ट भएकोले पनि सायद दर्शकले यस्तो महसुस गरेको हुनुपर्छ ।

यस चलचित्र प्रदर्शनका सञ्चार संयोजक सुदिन दोङ यो पटककको प्रदर्शनमा छानिएका दर्शक आएकोले पनि धेरैले यो तामाङ चलचित्र बुझ्न पाएको बताउनुहुन्छ । भन्नुहुन्छ– “ आज सेलेक्टेड सेलेक्टेड दर्शक मात्रै सहभागि भएका छन्, होहल्लामा प्रदर्शन सकाउनुभन्दा राम्रो वातावरणमा हेर्ने अवसर पाए दर्शकले, त्यसैले अब तामाङ चलचित्रप्रति सकारात्मक दृष्टिकोण बन्न सघाउँछ ।”

“ढिलै गरेर भएपनि दर्शक आउँछन् ।” दर्शको विश्वासलाई साँचेर साँझ पौने ५ बजेतिर पनि यसो भन्नुभएका नायक सागर घिसिङ दर्शकको साथले खुसी नै हुनुहुन्छ । तामाङ चलचित्रमानै पहिलो पटक उच्च गुणस्तरको भिडियोसहित निर्माण भएकोले प्राविधिक पाटोमा समेत राम्रो रहेको उहाँको दाबी छ । फोके प्रविधि अपनाइएको यस चलचित्रले अन्य तामाङ चलचित्रलाई पनि हालको डिजिटल प्रविधिमा ढाल्न मद्दत गर्ने उहाँको भनाई छ ।

“घ्रान”मा सागरसँगै नायिका सुकुमाया मोक्तानको अलावा शुस्मा मोक्तान,बिकास स्यङ्तान, सुनिता थिङ, शम्भु घिसिङ, पुसन लामा, राम घिसिङ, मुस्कान तामाङ, राम चन्द्र तामाङ, कर्मा घिसिङ, कुन्साङ तामाङ, योगेश मोक्तान, सरोज तामाङ, प्रशान्त तामाङ लगायतको अभिनय दमदार छ । केहि केहि कलाकारले भने संवादलाई कसिलो बनाउन सके अझै राम्रो हुने देखिन्छ ।

अमृत लामा र सागार घिसिङको कथा तथा पटकथामा जनक गुरुङ निर्देशित चलचित्रमा द्वन्द निर्देशन वाङ्छु लिम्बुको रहेको छ भने नृत्य निर्देशन अजय स्याङ्तानको रहेको छ । निर्देशक स्वयम्को संवादलाई बिक्रम लामा मोक्तानले क्यामेराकैद गर्नुभएको हो ।

कुमार स्याङ्बा र सुक्रानी दोङ (अनु)को शब्दलाई विशाल काल्तान,अमृत लामा, निमा दोङ र कृष्ण काफ्लेले संगीतबद्ध गरेका छन् भने ति गीतलाई अन्जु पन्त, विशाल काल्तान, जितु लोप्चन, निमा दोङ ,निर्माला घिसिङ, शम्भु घिसिङ र दिपा लामाले गाएका हुन् ।

गत महिनामात्रै राजधानीको जमल नाचघरमा प्रदर्शन गरिदा दर्शकले राम्रो प्रतिक्रिया दिएकाले यस चलचित्र “घ्रान” भक्तपुरमा पनि देखाउन निर्माण टिमलाई हौसला मिलेको हो ।

शुक्रबार भक्तपुरमा यो चलचित्र प्रदर्शन पुर्व औपचारिक समारोहका बिच सम्मान तथा कदरपत्र अर्पण पनि गरिएको छ । तामाङ चलचित्र संघका अध्यक्ष जेनिश लामाको प्रमुख आतिथ्यतामा गायिका जितु लोप्चनसँगै,“घ्रान” टिमकै केहि कलाकार र सञ्चारकर्मीहरुलाई सम्मान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !