शान्ति लामा

धुलिखेल–प्रदेश ३ अन्तरगत काभ्रेपलाञ्चोक जिल्लाका आदीवासी जनजातिहरुले पनि नेवा ताम्सालिङ प्रदेशको माग गरेका छन् ।

प्रदेश ३ को नाम नेवा ताम्सालिङ र राजधानी काभ्रे बनाउन माग राख्दै वुधबार जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक मार्फत प्रदेश सरकारलाई ज्ञापनपत्र समेत बुझाईएको छ ।

ऐतिहासीकता,यस भुगोलमा रहेका बाहुल्य जनताको भावनाको सम्मानका लागि प्रदेशको नाम नेवा ताम्सालिङ राख्दा अति उपयुक्त हुने उनिहरुको तर्क छ ।

प्रदेश ३ मा रहेका काभ्रेपलाञ्चोक,

सिन्धुली,नुवाकोट,रसुवा,धादिङ,

मकवानपुर,

काठमाण्डौं,ललितपुर,भक्तपुर लगायत १३ जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत प्रदेश सरकारलाई दवावस्वरुप ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तरगत जिल्ला प्रशासन कार्यालय धुलिखेलमा पनि सोही वेहोराको ज्ञापन पत्र बुझाईएको नेवा ताम्सालिङ समन्वय समितिका संयोजक विश्वनाथ तमोटले जानकारी दिनुभयो ।

मुलुकको पछिल्लो राजनीतिक उपलब्धी हाँसील हुनुमा सबै जात जाति,समुदायको बलिदान रहेको स्मरण गराउँदै उहाँले अझै मुलुक बचाउने आदीवासी जनजाति समुदायको योगदानको कदर हुनेमा आसंका रहेको बताउनुभयो ।

पिछडिएका,आदीवासी जनजाति सिमान्तकृत समुदायका लागि संविधानले बोलेअनुसार राज्यको व्यवहार नदेखिएकोले आफूहरु चुप लागेर बस्न नसकेको नेवा ताम्सालिङ समन्वय समितिका अर्का संयोजक फुर्साङ लामाको भनाई छ ।

उहाँले प्रदेश तथा स्थानिय सरकारले स्थानिय भाषालाई स्थान नदिएको,मातृ भाषामा शिक्षा लिन पाउने कुरा मौलिक हकमा उल्लेख भएपनि कार्यन्वयनतर्फ उदासिन भएको आरोप लागउनुभयो ।

संविधानिक व्यवस्था अनुसार दनुवार,जिरेल,माझी,हायु जस्ता अल्पसंख्यक,सिमान्तकृत, समुदायको विशेष संरक्षित स्वायत्त क्षेत्र घोषणा नगरि राज्य अघि बढ्न खोजेकोमा पनि उहाँको आपत्ति छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले आफुले प्राप्त गरेको ज्ञापनपत्र प्रदेश सरकारलाई छिट्टै पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

जिल्लामा रहेको नेपाल तामाङ घेदुङ,नेवा देय दबू,तत्कालिन लोकतान्त्रिक तामाङ संघ,तामाङ राष्ट्रिय मुक्ति मोर्चा लागयतका प्रतिनिधिहरु पत्रकारहरु समेतलाई लिएर ज्ञापनपत्र बुझाउन पुगेका थिए ।

यसरीनै बुधबार प्रदेश ३ का १३ वटै जिल्ला प्रशासन कार्यालय मार्फत दवावस्वरुप ज्ञापनपत्र बुझाएको ति जिल्लाका नेवा ताम्सालिङ समन्वय समितिका प्रतिनिधिहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस !