तेमाल–काभ्रेको तेमाल गाउँपालिका– ७ कुरुवास स्थित भुमेश्वर आधारभुत विद्यालयका छात्रछात्राहरुलाई ओम नेपालले शैक्षिक सामाग्री वितरण गरेको छ ।
सोलुखुम्बुकी कर्मा शेर्पा लामाको ८८ औं जन्मोत्सवको अवसरमा सोमबार विद्यालयका ९० जना विद्यार्थीहरुलाई कपी,कलम,सिसा,जियामेट्री बक्स जस्ता शैक्षिक सामाग्रीहरु वितरण गरिएको ओम नेपालका अध्यक्ष खुसराज लामाले जानकारी दिनुभयो । उहाँले ग्रामिण क्षेत्रको शैक्षिक विकासमा सहयोग पुर्याउन यस्तो कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
छात्राछात्रहरुले शैक्षिक सामाग्री पाएसँगै पढ्न हौसला मिलेको प्रतिक्रिया दिए । सरकार निशुल्क शिक्षाको अवधारणा मुताविक अघि बढिरहेपनि शैक्षिक सामाग्रीको अभावमा पढ्न समस्या झेलिरहेका विद्यार्थीहरुले यस्ता सामाग्रीहरु पाउनु खुसीको कुरा रहेको स्थानिय अभिभावक बताउँछन् ।
आफ्ना आमाको जन्म दिनको अवसरमा यस्तो सामाजिक पुण्य कार्यमा ओम नेपालसँग सहकार्य गर्न पाउँदा कर्मा शेर्पाका पुत्र लाक्पा शेर्पाले खुसी व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष खुसराज लामाासँगै समाजसेवी पासाङ डोल्मा लामा,वाङचु लामा लगायतले ८८ वर्षीय कर्माको सुस्वास्थ्यको कामना गर्नुभयो । उनिहरुले आर्थिक सहयोग गर्ने पासी शेर्पालाई पनि धन्यबाद दिए ।
कार्यक्रमको औपचारिक समारोहमा संघीय सांसद गंगावहादुर दोङ(बमध्वज) पनि सहभागी हुनुभयो ।
सांसद बमध्वजले ओम नेपालको यो प्रयासले शैक्षिक गुणस्तर अभिवृद्धिमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले मुलुकको शैक्षिक गुणस्तर उकास्दै सरकार व्यवसायिक,बैज्ञानिक र व्यवहारिक शिक्षातर्फ अघि बढ्ने उल्लेख गर्नुभयो ।