कृतिका लामा :

धुलिखेल–आदीवासी जनजाति तामाङ समुदायमा पछिल्ला समय प्रशंसा बटुलेको चलचित्र “आप्लेङला नाम्सा”यो साता काभ्रेको बनेपामा देखाईने भएको छ । यहि १० गते आईतबार विहान ९ बजे शुभकामना हलमा प्रदर्शनको तयारी पुरा भएको नायक बद्री थिङले जानकारी दिनुभयो ।

दर्जनौ चलचित्रहरुमा कोरियोग्राफर बनेका अजय स्याङतानको पहिलो निर्देशन हो “आप्लेङला नाम्सा” । तामाङ चलचित्रहरुको गुणात्मक पाटो गतिलो नभएको गुनासो आईरहदा दोर्जे तामाङको कथामा स्याङतानले निभएको निर्देशकिय कामले राम्रै प्रतिक्रिया बटुलेको छ । यसमा पनि कोरियोग्राफी स्याङतानकै रहेको छ ।

दर्जनौ चलचित्र र तिनका अनेक पात्रसँग दशक लामो संगत गर्ने अवसर पाएका कारण पनि स्याङतानलाई राम्रो चलचित्र बनाउन उत्प्रेरणा मिलेको बताईन्छ ।

प्राय तामाङ चलचित्रमा पुरानो ढर्राको कथा,पटकथा,संवाद,अभिनय,पविधि,बजेट अनि निर्देशनशैली । यिनै अवस्थाद्धारा निर्देशित मानसिकताका कारण तामाङ चलचित्र गुणात्मक नभएको मानिन्छ ।

यो यथास्थीतिबाट माथि उठ्न खोजिएका कारण पनि “आप्लेङला नाम्सा” राम्रो रहेको भनि यसअघि काठमाण्डौं उपत्यकामा गरिएको च्यारिटी सोका दर्शकहरुले प्रतिक्रिया जनाएका थिए । त्यसैले भदौ १० गते बनेपामा हुने प्रदर्शनमा दर्शकको राम्रो उपस्थिति रहने विश्वास चलचित्र टिमले लिएको छ ।

छेम्बेल ह्योल्मोले निर्माण गरेको “आप्लेङला नाम्सा”मा तामाङ समुदाय मात्रै नभई ह्योल्मो समुदायको पनि संस्कृति देख्न पाईनेछ । ह्योल्मो र तामाङ मितको कथामा यि दुई समुदायको सामाजिक,साँस्कृतिक जीवनशैली उधिनिएको यस चलचित्रमा बद्री थिङसँगै प्रेम तामाङ,छेम्बेल ह्योल्मो,सञ्जु केसी,भुईसाल लामा,कान्छी माया ह्योल्मो लगायतले अभिनय गरेका छन् ।

दोेर्जे तामाङको शब्दमा चन्द्रकुमार दोङले भरेको संगीतको पाटोलाई पनि यस चलचित्रमा राम्रो मानिएको छ । काठमाण्डौं डाँडागाउँ,स्वयुम्भु,सिन्धुपाल्चोकको आमायाङरी,तार्केघ्याङ,सेर्माथाङ र रामेछापको ठुलो सैलुङका पृष्ठभुमिहरुमा यो चलचित्रलाई कैद गर्नुभएको हो चक्र महर्जनले र सम्पादन स्वयम् निर्देशक अजय स्याङतानले गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस !