कृतिका घलान
बनेपा–नेपाल आदिवासी जनजाति पत्रकार महाँसंघ(फोनिज) काभ्रेले आफ्ना पुर्व अध्यक्षहरुलाई सम्मान गरेको छ । फोनिज काभ्रेले आईतबार आफ्नो १९ औं स्थापना दिवसको अवसर पारी पुर्व अध्यक्ष त्रयलाई दोसल्ला र सम्मानपत्रद्धारा सम्मान गरेको होे ।
समुदाय र आदीवासी जनजाति पत्रकारहरुको हक हित स्थापित गराउन तत्कालिन आदीवासी जनजाति पत्रकार संघ(अनिज)को जिल्ला शाखा स्थापना गरी आजसम्म निरन्तर योगदान दिने संस्थापक अध्यक्ष दिनेश लामा,पुर्व अध्यक्ष योक बहादुर घिसिङ र उजाड रक्तीम सम्मानित भएका हुन् ।
सम्मान समारोहमा प्रमुख अतिथिको रुपमा आउनुभएका संघिय सांसद गंगाबहादुर दोङ(बमध्वज)ले आदीवासी समुदायको पहिचानका खातिर कलम चलाएका व्यक्तित्वहरु सम्मानित भएकोमा बधाई दिनुहुदै अझै निरन्तर क्रियाशिलताको कामना गर्नुभयो ।
उहाँले पत्रकारहरु समाज निर्माणमा चेतनाको संवाहक भएकोले उनिहरुको योगदानलाई भुल्न नसकिने बताउनुभयो । मुलुक सवृद्धिको दिशातर्फ गएकोले यो अभियानमा पनि उत्तिकै भुमिका खेल्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
समाजलाई सहि दिशा निर्देश गर्ने मुख्य भुमिका पत्रकारहरुको रहने भन्दे उहाँले यसमा पत्रकार दक्षताको आवश्यकता पनि औंल्याउनुभयो । सांसद बमध्वजले पछिल्ला समय जन्मिएका पत्रकारहरुले अध्ययनविना कलम चलाउदा समाजमा नकारात्मक असर पर्ने गरेको उल्लेख गर्दै यसतर्फ सचेत हुन पनि अनुरोध गर्नुभयो ।















