धुलिखेल–सांगीतिक कन्सर्ट त सुनिदै आएको र हामी कत्ति त बेलावखत त्यस्ता कन्सर्टमा सहभागीनै हुने गर्छौं तर यहाँ प्रसंग कविता कन्सर्टको ।
कत्तिले पहिलो पटक सुनेको हुनुपर्छ । यद्यपी हामी सहजै अनुमान लगाउन सक्छौंकी सांगीतिक कन्सर्टमा गीत संगीत तथा नाचगान प्रश्तुत गरिएजस्तै कविता कन्सर्टमा कविता सुनाईन्छ ।
हो,यो पटक नुवाकोट साहित्य प्रतिष्ठानले शनिबार सदरमुकाम विदुरमा कविता कन्सर्ट आयोजना गर्यो । कन्सर्टमा राजधानीबाट झरेका कवि देवकी अभिलाषीले आफ्ना ११ कविता वाचन गर्नुभयो ।
उहाँले ‘वनमान्छे’,‘यो शहरलाई प्रेम गर्छु’, ‘प्रेम उत्सव’, ‘मरुभूमिबाट’ लगायत कविता प्रश्तुत गर्नुभयो ।
अधिकांश कविताले वाहवाही पाए । कत्तिलाई गम्भीर बनाए । ति कविताहरुले आफैं सम्वाद गरे संवेदनासंग,मन्छेका मनसंग । कविताको दमअनुसार दर्शकको मुद्राभावमा उतारचढाव देखिनैरहन्थ्यो ।
गीतसंगीतमा जस्तै प्रेमका कुरा त छँदै थियो, खासमा अभिलाषीका कविताहरुमा शहरले दिने पीडा र पाठ, गाउँको सम्झनादेखि वैदेशिक रोजगारीमा महिलाले भोग्नुपरेको पीडासम्म भेटिए ।
हे झोला अपराधका शिरहरु निर्धक्क बोक्छौ कति ? आमा बेच्नु परयो भने यदि कतै लौ मूल्य तोक्छौ कति ?
कस्ले किन्छ भनेर धड्कन यहाँ गर्दै छु विज्ञापन ? खेलौना अनमोल भो तर यहाँ सस्तो भयो जीवन ।
‘सस्तो भयो जीवन’ शीर्षकको कविता वाचन गरिरहँदा हलभरिका कविता सुन्नेहरु शान्त थिए ।
कन्सर्टमा ओजपूर्ण आवाजमा युवा कवि सुदेश सत्याल पनि देखिनुभयो ।
दश कविता प्रस्तुत गर्नुभएका सत्यालले पनि स्थानिय साहित्यप्रेमीलाई मन्त्रमुग्ध पार्न सफल हुनुभयो । सत्यालले ‘सिरिया’ शीर्षकको कवितामा सिरियामा भएको युद्धलाई तस्वीरझैँ प्रस्तुत गर्नुभयो ।
कवि राजकुमार पुत्लाले दुवै स्रष्टाको दमदार प्रस्तुतिले मन छोएको प्रतिक्रिया दिनुभयो । नुवाकोट उद्योग वाणिज्य संघका कोषाध्यक्ष गीता अमात्यले कविता कन्सर्टको प्रशंसा गर्नुभयो ।
जिल्लाको पर्यटन प्रवद्र्धन गराउनका लागि कसन्र्ट आयोजना गरिएको नुवाकोट साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष श्रीराम श्रेष्ठको भनाई छ ।
प्रतिष्ठानका अध्यक्ष रामकृष्ण गजुरेलले स्थानिय पर्यटन प्रवद्र्धनका साथै साहित्यको श्रीवृद्धिका लागि यस्तो कार्यक्रमको औचित्य रहेको बताउनुभयो ।