किरण थापा,,,
सिन्धुपाल्चोक–चौताराको टुंडिखेलमा शनिबार भब्य रुपमा बाल विकास महोत्सव सम्पन्न भयो, यसले के सन्देश दियो भन्ने कुरा त छँदैछ तर नजिकै रहेको बाल उद्यानमा घामपानीले रङ खुईलिएको साईनबोर्ड, भत्किएको गेट , च्यातिएका तारजालि, अल्ली भित्र २।४ वटा लडिरहेका बेन्चहरु देख्ने महोत्सवका दर्शक जो कोहीको मन खिन्न भयो पक्कै ।
बाल मैत्री वातावरणमा घुलमिल गराई उनिहरुको विकासमा यस्ता बाल उद्यानको खास महत्व रहन्छ । जिल्लाकै पहिलो नगरपालिका चौतारा नगरपालिकाले बाल उद्यान (चिल्ड्रेन पार्क) र नगर सूचना केन्द्र सञ्चालन गर्ने भनिएको तिन बर्ष बित्नै लाग्यो ।
तत्कालिन प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले बाल उद्यान नगर सूचना केन्द्रको उद्घघाटन गर्नुभएको थियो । उद्घाटनपछि उहाँले भन्नुभएको थियो–“उद्यान र केन्द्र समृद्ध चौतारा बनाउने संकेत मात्रै हो ।” चौतारालाई बालमैत्री नगरपालिका बनाउने नीति अनुरुप चिल्ड्रेन पार्क सञ्चालनमा ल्याउने काम सुस्त देखिएको हो ।
जिल्लामा रहेका विभिन्न सरकारी तथा गैह्रसरकारी निकायहरुको सहयोगमा बाल विकास महोत्सव त सम्पन्न भयो तर नजिकै रहेको बाल उद्यानमा सरोकार वाला कसैको पनि आँखा गएको देखिएन । चौतारा साँगाचोकगढि नगरपालिकाका प्रमुख(मेयर) अमानसिंह तामाङले पनि बाल उद्यानको बारेमा कुरा उठाउनुभएन ।
झण्डै तीन बर्ष अगाडी त्यही नजिक ६ लाख रुपैयाँभन्दा बढी लगानीमा पार्क सञ्चालनमा ल्याईएको थियो । नगरपालिकाको ५ लाख र भगवती सामुदायिक वन उपभोक्ता समितिको १ लाख २ हजार रुपैयाँ लगानीमा झण्डै डेढ रोपनी जमिनमा फैलिएको पार्कमा आकर्षक बगैँचासहित पिङ, चिप्लेटी र आराम गर्ने बेन्चको व्यवस्था गरिएको थियो ।

















