काठमाण्डौं, २३ जेठ :
दलहरुबिचको कुरा नमिल्दा संसदको कार्यसञ्चालन नियमावली संसदबाट पारित हुन सकेको छैन । जसकारण अत्यावश्यक कानुन निर्माणमा ढिलाइ भएको छ ।
फौजदारी अभियोग लागेका सांसदलाई पदबाट निलम्बन गर्ने वा नगर्ने भन्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच विवाद हँुदा नियमावली पारित हुन नसकेको हो ।
आपराधिक गतिविधिमा मुछिएका आफ्ना दलबाट सांसद बनेका तथा नेता बनेकाहरुको बचाउमै दलहरु अल्झीएपछि मुलुकलाईनै अनिर्णयको बन्दीतर्फ धकेलिएको छ ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले कार्यसञ्चालन नियमावली पारित नहुँदासम्म संसदीय समितिहरु गठन गर्न नसकिने बताउनुभयो ।
उहाँले तयार भइसकेका कतिपय कानुनहरु समेत संसदमा पेश हुन नसकेको जानकारी दिनुभयो ।
संसदीय समितिहरु नबन्दासम्म बनेका कानुनहरु संसदमा पेश भएपनि यसै थन्कीने डरका कारण संसदमा ऐन, कानुनहरु पेश गर्न नसकेको उहाँको भनाई छ ।
यद्यपी उहाँले मौलिक हक कार्यान्वयनको लागि समय अवधिभित्रै कानुन निर्माण गरिसक्ने बताउनुभयो ।