नमोबुद्ध संवाददाता,,

हेटौंडा,२१ जेठ :
प्रधानमन्त्री केपी शर्मा ओलीले अबको केही बर्षभित्रै कोहि पनि नेपालीले भोकै मर्नु नपर्ने बताउनुभएको छ । केही वर्षभित्र खाद्यान्नमा आत्मनिर्भर हुने तरिकाले सरकारले काम गरिरहेको प्रधानमन्त्री ओलीको भनाई छ ।

सोमबार मकवानपुरको हेटौंडामा प्रदेश नं ३ को प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दै उहाँले नेपालीले हात फैलाएर भीख माग्नुपर्ने र कोही पनि भोकले मर्नुपर्ने स्थितिको अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

हरेक नेपालीले सुरक्षित भएर बाँच्न पाउने र शान्ति सुरक्षाका साथ बाँच्न पाउने अधिकारको सुनिश्चित गर्ने भन्दै उहाँले समाजवाद उन्मुख समाजमा समग्र राष्ट्रिय उत्पादनलाई बढाएर सबै नेपालीले खान, लाउन, बस्न, पढ्न पाउनेजस्ता आधारभूत अधिकार समानरुपमा उपयोग गर्न पाउने अवस्थाको विकास गर्ने विश्वास दिलाउनुभयो ।

साथै छिमेकी राष्ट्रसँग अनुचित सम्झौता नगरी नरम उचाईका साथ सार्वभौमसत्ताको संरक्षण गर्न सरकार लागेको जानकारी दिनुभयो । उहाँले मुलुकको राष्ट्रियता, भौगोलिक अखण्डता, आन्तरिक हस्तक्षेप, राष्ट्रिय हितविपरीत कुनै पनि काम नगर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !