
- नमोबुद्ध संवाददाता,,,
२९ बैशाख :
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमजोङ उन कोरियाली प्रायद्वीपको समस्या सुधारमा ईच्छुक देखिनुभएको छ । उक्त क्षेत्रमा विशेषगरी उत्तर र दक्षिण कोरियाको झगडा हुने गर्छ । यसमा प्रत्यक्ष अप्रत्यक्ष अमेरिका पनि मुछिने गरेको छ ।
यसैक्रममा दुई राष्टप्रमुखबीच जुन १२ मा सिंगापुरमा भेटवार्ता हुने भएको छ । गएको अप्रिलमा किमको निम्तोलाई स्वीकार गर्दै ट्रम्पले लामो समयदेखि कोरियाली प्रायद्वीपमा देखिएको समस्या समाधान गर्ने बताउनुभएको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीटमार्फत किमसँगको भेटघाटको मिति र स्थान बताउनुभएको हो । अमेरिकी राष्ट्रपतिको यो घोषणा उत्तर कोरियाली तीन अमेरिकी नागरिकलाई रिहा गरेको केही घण्टापछि आएको हो ।
राष्ट्रपति ट्रम्प उत्तर कोरियाद्वारा रिहा गरिएका आफ्ना नागरिकलाई लिन आफै विमानस्थल पुग्नुभएको थियो । उत्तर कोरियाले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको प्योङयाङ भ्रमणका अवसरमा तीन जना अमेरिकी नागरिकलाई रिहा गरेको थियो ।
गएको अप्रिलमै उत्तर कोरियाली नेता किमजोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मून जे इनबीच ऐतिहासिक शिखर वार्ता भएको थियो । त्यसपछि कोरियाली प्रायद्वीपमा लगातार शान्ति स्थापना हुने संकेत देखिएको छ ।