
- नमोबुद्ध संवाददाता,,,
धुलिखेल,१९ बैशाख :
पछिल्लो समय भ्रष्टाचार न्युनिकरणका लागि सरकारले चालेको कदमको प्रशंसा भईरहेको छ । अख्तियारको अनुसन्धान सरकारी सम्पत्ति कुम्लाएर गुमनाम रहेकाहरुमाथि पनि सोझिन थालेको छ ।
सुनकाण्ड लगायतका विभिन्न केशहरुलाई अनुसन्धान गरी कारवाही गर्न थालेपछि प्रहरीका उच्च अधिकारीहरुलाई निन्द्रा परेको छैन । फेरि सरकारी सम्पत्ति दुरुपयोग गरी विदेश जानेहरुलाई दुखलाग्दो तर आम जनतालाई खुसीलाग्दो खबर छ ।
सरकारी सम्पत्तिको दुरुपयोग गरी सरकारका अधिकारीहरु आफूखुसी विदेश घुम्न जानु राम्रो हैन,जहाँ उनिहरु आफ्ना व्यक्तिगत खर्च गर्दैनन् । यो अबस्थामा सरकारले सरकारी पदाधिकारीको विदेश भ्रमणमा अंकुश लगाएको अर्को खुसीको खबर पनि थपिएको हो । वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका जारी गरेर सरकारले मन्त्री, सचिवदेखि सार्वजनिक पद धारण गरेकाहरुको विदेश भ्रमणमा कडाइ गरेको हो ।
निर्देशिका अनुसार अब ठेकेदार वा परामर्शदाताको खर्चमा पनि सरकारी पदाधिकारी विदेश जान पाउने छैनन् । निर्देशिकामा सम्झौता वा ठेक्कामा सञ्चालित आयोजना वा खरिद सम्झौताको पक्ष, ठेकेदार वा परामर्शदाताको खर्चमा कुनै पनि सरकारी पदाधिकारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगरिने उल्लेख छ ।