• नमोबुद्ध संवाददाता,,,

धुलिखेल,१६ बैशाख :
सिमीत व्यक्तिहरुको स्वार्थमा चलेका कारण निरन्तर घाटामा रहेको नेशनल ट्रेडिङ लिमिटेड चलाउने मनस्थीतिमा ओली सरकार देखिएको छ । संवृद्धिको नारा लिएर जनतामाझ गएको बाम गठबन्धनले जनताको मन जितेपछि उसको ध्यान यसतर्फ पनि गएको हो ।

यसका लागि अघिल्लो सरकारले खारेज गरेको नेशनल लिमिटेडलाई वर्तमान बाम गठबन्धनको ओली सरकारले व्युँताउने भएको हो ।  उद्योग, वाणिज्य तथाआपूर्ति मन्त्रालयले खाद्य संस्थान र व्युँताइएको नेसनल ट्रेडिङलाई गाभेर नयाँ कम्पनी खडा गर्ने तयारी गरेको हो । मन्त्रालयले खाद्य संस्थान र नेसनल ट्रेडिङलाई गाभेर एउटै कम्पनी तयार पार्ने प्रस्ताव सरकारको नीति तथा कार्यक्रममा पेश गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय समक्ष प्रस्ताव गरिसकेको छ ।

आपूर्ति मन्त्रालयका सहसचिव मुकुन्दप्रसाद पौडेलले दुई संस्थानलाई गाभेर नयाँ कम्पनी खडा गर्ने प्रस्ताव नीति तथा कार्यक्रममा समावेश गर्न सिफारिस गरिएको जानकारी दिनुभयो । घाटा चुलिँदै गएर सञ्चालन गर्न सक्ने अवस्था नरहेको भन्दै तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले गत माघमा नेसनल ट्रेडिङ खारेज गर्ने निर्णय गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस !