- नमोबुद्ध संवाददाता,,,
काठमाण्डौं,१४ बैशाख :
काठमाण्डौं,१४ बैशाख ः
सरकारले संघीय संसदको अधिवेशन बैशाख २३ गते आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा शुक्रबार बसेको बैठकले बैशाख २३ गते आइतबार अपरान्ह ४ बजे संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपति बिद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
आगामी जेठ १५ गते बजेट ल्याईसक्नुपर्ने संवैधानिक व्यवस्थाका बीच २३ गतेबाटै अबिधेशन सुरु गर्ने सरकारको तयारी छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् बैठक बोलाउने संवैधानिक प्रावधान छ ।
सचिवालयका प्रवक्ता भरतराज गौतमले सरकारले ल्याउने नीति तथा कार्यक्रम तथा प्रि–बजेटमाथिको छलफल प्रारम्भ गर्न आवश्यक हुने भएकाले वैशाख अन्तिम साताबाट बैठक बस्ने गरी तयारी गरिएको बताउनुभयो ।
सचिवालयले वैशाख अन्तिम सातादेखि असार दोस्रो सातासम्मका लागि बजेट अधिवेशनको क्यालेन्डर तयार गरिरहेको छ । असार मध्यसम्ममा बजेटमाथि छलफल टुंगिने अनुमानका साथ दोस्रो अधिवेशन तयारी गरिएको हो ।
गौतमका अनुसार प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली, राष्ट्रिय सभा कार्यसञ्चालन नियमावली र संयुक्त बैठकको कार्यसञ्चालन गरी तीनवटा नियमावली तयार पार्ने काम भइरहेको छ । नियमावलीमा एकरूपता कायम गर्न र संयुक्त बैठकको नियमावली तयार गर्न प्रतिनिधिसभा र राष्ट्रिय सभाका नियमावली समितिको संयुक्त बैठकबाट काम अघि बढाइएको छ ।
बजेट अधिवेशनको पहिलो बैठकमै नियमावली पेस गर्ने गरी काम भइरहेको छ । मंसिर १० र २१ मा भएको आमनिर्वाचनपछि संघीय संसदको पहिलो अधिवेशन फागुन २१ गतेबाट सुरु भएर चैत २० गते सकिएको थियो ।