• नमोबुद्ध संवाददाता

काठमाण्डौं,२८ चैत :
नेपाल प्रहरीको महानिरीक्षक बढुवामा चिक्त नबुझेको भन्दै डीआईजी रमेश खरेलले राजीनामा दिनुभएको छ । सरकारले मंगलबार आईजीपीमा एकै व्याजका डीआईजी सर्वेन्द्र खनाललाई नियुक्त गरेपछि सामाजिक सञ्जालमार्फत असन्तुटी जनाउँदै खरेलले बुधबार प्रहरी महानिरीक्षकको सचिवालयमा राजीनामा बुझाउनुभएको हो ।

विभिन्न घटनामा संलग्न अपराधिक गिरोहलाई ठेगान लगाउन हिम्मत देखाएका कारण खरेल जनमानसमै चर्चामा हुनुहुन्थ्यो । महानिरीक्षक नियुक्तिका विषयमा चित्त नबुझि खरेलले राजीनामा दिएको खबर आएसंगै सामाजिक सञ्जालमार्फत तिनका प्रयोगकर्ता तथा जनमानसबाट सरकारको आलोचना हुन थालेको छ । खरेलको राजिनामा आएको प्रहरी प्रवक्ता डीआईजी मनोज न्याउपानेले पुष्टी गर्नुभयो ।

यसैबिच नेपाल प्रहरीमा प्रहरी महानिरीक्षकसहित एकैपटक दुई दर्जनभन्दा बढी उच्च अधिकृतले अवकाश पाएका छन् । प्रहरी महानिरीक्षक प्रकाश अर्यालसहित २६ जना उच्च प्रहरी अधिकृतले एकसाथ बुधबारबाट नियमित अवकाश पाएका हुन् ।

अर्याल अवकाशमा जाने अघिल्लो दिनमा मंगलबार साँझ अबेरमात्र सरकारले नयाँ आइजिपीमा सर्वेन्द्र खनाललाई नियुक्त गर्ने निर्णय गरेको थियो । बुधबारबाट अवकाश पाउनेमा १६ जना एआइजी, ९ जना डिआइजी र १ जना एसएसपी रहेको प्रहरी प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !