• नमोबुद्ध संवाददाता

दोलालघाट,२६ चैत :
दोलालघाट महोत्सवको चौथो दिन सोमबार लोक दोहोरी गायक नवराज घोरासईनी र गायिका मञ्जु गौतमले दर्शकलाई नचाएका छन् । अल्लारे सान्नानी,घुम्तीनेर लेट भयो,वेशी झर है,गेटमा तालाबन्द लगायतका गीतबाट काँठ क्षेत्रमा चर्चा बटुल्नुभएका गायक घोरासैनी दर्शकदिर्घामा रमाईला गीतका टुक्काहरु जोड्दै दोहोरीमा उत्रिदा माहोल रोमाञ्चक बन्यो ।

त्यस्तै पछिल्ला समय “हेलम्बुको स्याउ मिठो मेलम्चीको पानी” लगायत विभिन्न नेपाली मौलिक चाडपर्वका गीतहरु पस्केर उदाउनुभएका गायिका मञ्जु गौतमको प्रश्तुतीलाई पनि दर्शकले रुचाएका छन् । महादेव त्रिपाठी(जादुगर) को प्रहसनमुलक प्रश्तुतीलाई दर्शकहरुले झनै रमाईलो माने । राजन चौलागाईका साथै स्थानिय कलाकारहरुले पनि आ–आफ्ना प्रश्तुती बाँडे ।

“प्राकृतिक,साँस्कृतिक,कृषि र व्यापार,दोलालघाट पर्यटन प्रवद्र्धन विकासको आधार” भन्ने नाराका साथ शुक्रबारदेखी जारी महोत्सवमा सुनकोशीमा रयाफ्टिङ (बोटिड्ड) को मज्जा लिनेहरु पनि उत्तिकै रहेको आयोजक दुलालेश्वर वातावरणीय तथा समाजसेवा क्लवका अध्यक्ष अष्ट श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्सवको आकर्षणको रुपमा ३० गते “न्यु ईयर ईभ तथा डिजे पार्टी”का साथै हेलिकप्टरबाट विभिन्न प्राकृतिक सुन्दरता र धार्मिक स्थलहरुको अवलोकन गर्ने व्यवस्था गरिएको उहाँको भनाई छ । उहाँले भन्नुभयो –“३० र २ गतेका लागि हामीले हेलिकप्टर मगाउदैछौं र न्यु ईयर ईभ तथा डिजे पार्टीका लागि पाटनबाट चर्चित “द रोयल नेपाल व्याण्ड”लाई निम्तो दिईसकेका छौं ।”

महोत्सवमा अन्य आकर्षणका रुपमा उद्योग÷व्यापार स्टलहरु , बाल उद्यान रमाइलो मेला, चमेना गृह, स्वास्थ्य शिविर,कृषि प्रदर्शनी , सांस्कृतिक कार्यक्रम, राष्ट्रिय कलाकार सम्मान, नृत्य प्रतियोगिता लगायत पनि रहेकोले दर्शकहरु विस्तारै बढ्दै गएको आयोजकको दावी छ ।

महोत्सवले ०७२ वैशाख १२ को भुकम्पपछि पनि दोलालघाट पर्यटकहरुका लागि योग्य छ भन्ने सन्देश प्रवाह गर्ने बताईएको छ । केहि स्थानियहरुको आफ्नो आवास निर्माण सम्पन्न नभएपनि आन्तरिक तथा वाह्य झण्डै २ सय ५० जना पर्यटकहरु बस्न सकिने आवश्यक होटेल संरचना रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । महोत्सवलाई लक्षित गरी पर्यटकहरुको आगमन बढेमा टेन्टको व्यवस्था गरी अस्थायी व्यवस्थापन गर्ने तयारी भईरहको पनि उहाँले जनाउनुभयो ।
काभ्रे र सिन्धुपाल्चोकको पुरानो व्यापारीक केन्द्र पनि भएकोले निकै चहलपहल हुने दोलालघाट भुकम्पपछि केहि सुस्ताएको थियो ।

ईन्द्रावती,भोटेकोसी तथा सुनकोशीको संगम स्थलमा अवस्थीत दोलालघाटलाई प्राकृतिक छटाले भरिपुर्ण मानिन्छ । विशेषत तामाङ समुदायसंगै अन्य विभिन्न जातजातिको जीवनशैली,संस्कृति,जिव्रोमै अडिने ताजा परिकारले पनि पर्यटकको मन सहजै तान्न सक्दछन् । यसैकारण दोलाघाटमा वर्षेनी लाखौं आन्तरिक तथा वाह्य पर्यटकहरुको चहलपहल रहने गर्दछ । यिनै विषयको उजागर गर्न दोस्रो पटक दोलालघाट महोत्सव आयोजना गरिएको आयोजकको भनाई छ । चैत्र २३ देखि सुरु भएको महोत्सव आगामी बैशाख ४ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस !