नमोबुद्ध संवाददाता
धुलिखेल,२६ चैत :
पुर्व सुचना तथा सञ्चार मन्त्री मोहनवहादुर बस्नेतले १० वर्षभित्र डिजिटल नेपाल बनाउने तर्फ लाग्न सरकार अग्रसर हुनुपर्ने बताउनुभएको छ । सवृद्ध देश बनाउन सुचना प्रविधिको अधिकतम प्रयोग आवश्यक रहेकोमा जोड दिदै उहाँले सरकारसंगै सुचना प्रविधि क्षेत्रमा स्थानिय तह,युवा वर्गलाई पनि लाग्न आग्रह गर्नुभयो ।
सोमबार ट्रिपल एड्भरटाईजिङ एण्ड मिडिया प्रालि काठमाण्डौंको आयोजनामा धुलिखेलमा आयोजित “सुचना प्रविधिको उपयोगिता,महत्व र राष्ट्रिय विकासमा पुर्याएको योगदान” विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै काँग्रेसको केन्द्रिय सदस्य समेत रहेका बस्नेतले यस्तो बताउनुभएको हो । काभ्रेमा रहेको “सुचना प्रविधि पार्क”को प्रयोग गर्न नसक्नु लज्जाको विषय रहेको बताउँदै उहाँले यसतर्फ पनि सरकारले सोच्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले १० वर्षभित्र मुलुकका सबै स्थानिय तह र विद्यालयहरुमा ईन्टरनेटको पहुँच पुर्याउने योजनाका साथ सन् २०२७ भित्रमा डिजिटल नेपाल बनाउने अवधारणा अघि सार्दै आफु सञ्चारमन्त्री हुदा विभिन्न नीति तथा कार्यक्रमहरु ल्याएको स्मरण गराउनुभयो ।
विकासमा लागि जवरजस्ती लाग्न पनि तयार हुनुपर्ने उल्लेख गर्दै पुर्व मन्त्री बस्नेतले राम्रो काममा कोही वाधक बन्छ भने त्यो देशद्रोही हुने बताउनुभयो । उहाँले भन्नुभयो–“केपी ओलीले गर्न लागेको राम्रो कामको मैले विरोध गरें म पनि देशद्रोही हुन्छु,विचार र आस्थाको आधारमा विरोध गर्ने,भाँजो हाल्ने प्रवित्तको अन्त्य हुनुपर्छ अनिमात्रै देश अघि बढ्छ ।”
तत्काल अहिले शिक्षा तथा स्वास्थ्य क्षेत्रको विकासको सवालमा प्रविधिको प्रयोग गर्न सके मुलुकलाई फड्को मार्न सजिलो हुने उहाँको तर्क छ । उहाँले तीन वर्षभित्र विद्यालयहरुमा निशुल्क कम्प्युटर शिक्षा प्रदान गर्नतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले १४ जिल्लामा यसको पाईलट परियोजनानै सुरु भएको जानकारी गराउनुभयो ।
अन्तरक्रियामा नेपाल दुरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषेत्तम खनालले सुचना प्रविधिले भौगोलिक विकटतालाई चिर्दै स्वास्थ,शिक्षा,व्यापार व्यवसायको विकास र प्रवद्र्धन गर्नमा ठुलो भुमिका खेल्ने बताउनुभयो । उहाँले देशभर सरकारी सेवा सुविधालाई जनाताको पहुँचमा पुर्याउन तथा सेवा प्रभावकारी बनाउन पनि सुचना प्रविधिको अधिकतम प्रयोग गर्नु सकिने उल्लेख गर्नुभयो ।
सुचना प्रविधिलाई जनाताको जीवनशैलीसंग जोड्न मद्धत पुर्याउन यस्तो अन्तरक्रिया कार्यक्रम गरिएको ट्रिपल एड्भरटाईजिङ एण्ड मिडिया प्रालिका अध्यक्ष सुर्यवहादुर कार्कीले बताउनुभयो । कार्यक्रममा जिल्लाका विभिन्न स्थानिय तह,शैक्षिक संस्था,सुचना प्रविधिको क्षेत्रमा रहेका संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।