- नमोबुद्ध संवाददाता
काठमाण्डौं,२२ चैत :
नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकताको लागि आ—आफ्नो संगठन परिचालन गर्ने तयारी गरेका छन् । नेतादेखी कार्यकर्तासम्म एकतालाई बेलियो बनाउन दुई पार्टीले संगठनहरु परिचालन गर्ने तयारी गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा विहिबार बसेको पार्टी एकता संयोजन समितिको बैठकले यस्तो निर्णय गरेको हो । छिट्टै पार्टी एकता हुने भएकाले अपनत्व वोध गराउन शुभेच्छुक र भ्रातृ संगठन परिचालन गर्ने निर्णय भएको एमाले महासचिव समेत रहनुभएका रक्षामन्त्री इश्वर पोखरेलले जानकारी दिनुभयो ।
बैठकमा विभिन्न कार्यदलले बुझाएको प्रतिवेदनबारे पनि प्रारम्भिक छलफल भएको छ । एमाले नेता माधवकुमार नेपाल नेतृत्वको कार्यदलले राजनीतिक प्रतिवेदन र माओवादी नेता रामबहादुर थापा नेतृत्वको कार्यदलले विधान मस्यौदा प्रतिवेदन बुझाएका थिए ।
वैशाख ९ मै पार्टी एकता हुन्छ : प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख ९ गतेनै पार्टी एकता हुने समझदारी बनेको बताउनुभएको छ । काठमाण्डौमा विहिबार आयोजित एक कार्यक्रमलाई संबोधन गर्दै उहाँले भन्नुभयो–“वैशाख ९ गते अप्रील २२ तारिखका दिन पार्टी एकता गर्ने समझदारी बनेको हो,हामी यहि अनुसार अगाडी बढ्दैछौं ।”
अहिले आन्तरिक तयारी भईरहेको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओली भारतबाट फर्किएपछि पार्टी एकता हुने बताउनुभयो । पार्टी एकतासँगै नेपाल नयाँ युगमा प्रवेश गर्ने दावी गर्दै उहाँले शान्ति र समृद्धिको दिशामा अघि बढेको सन्देस विश्व समुदायलाई दिईने बताउनुभयो ।
अध्यक्ष प्रचण्डले पार्टी एकताको क्रममा माओवादी आन्दोलनलाई नविर्सिएको बताउनुभयो । उहाँले एमाले माओवादीले बनाएको कार्यदलले बुझाएको प्रतिवेदनमा जनयुद्ध शब्द उल्लेख रहेको जानकारी पनि दिनुभयो । अब चुनाव चिन्ह र बाँकी विषयमा सहमती बनेपछि पार्टी एकता हुने उहाँको भनाई छ ।